बाजुरामा स्याउको सिजन: बगैँचामै ग्राहकको चहलपहल
बाजुरा। बाजुरामा उत्पादन हुने अर्ग्यानिक स्याउ बजारमा आउन तयार भएसँगै किसानका बगैँचामा चहलपहल बढ्न थालेको छ।

स्याउका केही जात पाकिसकेका र केही पाक्ने क्रममा रहेकाले स्थानीय उपभोक्ता तथा आन्तरिक पर्यटकहरू स्याउ बारीमै पुगेर फोटो खिच्ने, ताजा स्याउ खाने तथा खरिद गरेर लैजाने क्रम बढेको छ।
जिल्लाको बुढिनन्दा नगरपालिका–स्थित पाण्डुसैन, स्वामिकार्तिक खापर गाउँपालिकाका जुकोट र साप्पाटा तथा जगन्नाथ गाउँपालिकाको लेकाली क्षेत्रमा अहिले स्याउका बगैँचाहरू आकर्षणको केन्द्र बनेका छन्। हरियाली बगैँचामा राताम्मे हुँदै गएका स्याउले स्थानीयसँगै बाहिरबाट आउने पर्यटकलाई समेत लोभ्याएको छ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाका विभिन्न उच्च पहाडी क्षेत्रमा उत्पादन हुने केही जातका स्याउ पूर्ण रूपमा पाकिसकेका छन् भने अधिकांश जात भदौको सुरुआतसम्म बजारमा पठाउन योग्य हुनेछन्। अनुकूल मौसमका कारण यस वर्ष उत्पादन पनि उत्साहजनक रहने अपेक्षा गरिएको केन्द्रले जनाएको छ। बुढिनन्दा नगरपालिका–९ पाण्डुसैनस्थित सहारा स्याउ गार्डेनका सञ्चालक पुर बहादुर रावतका अनुसार पछिल्ला दिनमा ग्राहकहरू बगैँचामै पुगेर स्याउ खरिद गर्ने तथा ताजा स्याउको स्वाद लिन आउने क्रम उल्लेख्य रूपमा बढेको छ। सामाजिक सञ्जालका लागि फोटो तथा भिडियो खिच्न आउने आन्तरिक पर्यटकको संख्या पनि बढ्दै गएको उहाँले बताउनुभयो।
उच्च हिमाली क्षेत्रमा रासायनिक विषादीको न्यून प्रयोग तथा प्राकृतिक वातावरणमा उत्पादन हुने भएकाले बाजुराको स्याउ निकै स्वादिलो, गुणस्तरीय र अर्ग्यानिक मानिन्छ। यही कारणले वर्षेनी बाजुराको स्याउ उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको किसानहरूको भनाइ छ।
कृषि ज्ञान केन्द्रका अनुसार बाजुरा जिल्लाभर करिब एक सय ७० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएकोमा वार्षिक एक हजार २० मेट्रिकटन स्याउ उत्पादन हुने गरेको छ। उत्पादन बढ्दै जाँदा स्याउ खेती किसानको आम्दानीको महत्वपूर्ण स्रोत बन्दै गएको छ।







प्रतिक्रिया राख्नुहोस्