तपाईँ सुन्दै हुनुहुन्छः

जुम्ली महको मूल्य वृद्धि, किसान उत्साहित

जुम्ला । जुम्लामा उत्पादन हुने अर्ग्यानिक महको मुख्य वृद्धि भएपछि किसान उत्साहित भएका छन् । 

चरण क्षेत्रको अभाव, रोग किराको प्रकोपका बीच पनि जोखिम मोलेर मौरीपालन गरिरहेका जुम्लाका किसान महको मूल्य वृद्धि भएसँगै उत्साहित भएका हुन् । 

प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईँको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले महको मूल्य हालसम्मकै वृद्धि गरेको छ । मूल्य वृद्धिसँगै किसान उत्साह छाएको पातारासी गाउँपालिका वडा नं. ७ का मौरीपालक किसान टंक रावतले जोखिम मोल्दै मौरी पालन गर्दै आएका किसानलाई मूल्य वृद्धि राहत दिलाएको बताउनुभयो । भरी र खाली गरेर झण्डै एक सय वटा घार रहेका किसान टङ्कले गत वर्ष प्रतिकेजी १८ सय रुपैयाँमा विक्री गरेका थिए । भने मह बेचेरै उनले वार्षिक ८ लाख सम्म आम्दानी गर्दै आएका छन् ।

रोग किराको सङ्क्रमणले मौरी बचाउन कठिन रहेको दुखेसो गरेका उनले सरकारले अनुदान दिने गरे पनि सङ्कटको समयमा चासो नदिएको समेत गुनासो पोखे । विगतमा १८ सय रुपैयाँ प्रतिकेजी मह बचेका टंक एक्कासी प्रतिकेजी ७ सय रुपैयाँ वृद्धि भएपछि निकै उत्साहित भएका छन् । 

जुम्लाको मह सुर्खेत, नेपालगञ्ज, पोखरा, काठमाडौँ लगायतका सहरमा पुग्ने गरेको छ । जुम्लामा लामो समयदेखि अर्ग्यानिक मिनि मार्केट सञ्चालन गर्दै आएका ऋषिराम पाण्डेले जुम्लाको महको माग बढ्दो मात्रामा रहेको बताए । 

जुम्ली महको प्रयोगले स्वास्थ्य धेरै फाइदा गर्ने र स्वादिष्ट हुने भएकाले बजारमा महको अत्यधिक रुपमा माग बढ्दै गएको छ । आठ स्थानीयतह रहेको जुम्लामा करिब ८ हजार मौरी घार रहेको तथ्याङ्क छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button