बुटवलमा एक वर्षमा ३१ सयभन्दा बढी तरकारी–फलफूल परीक्षण
रुपन्देही । बुटवल कृषि उपज थोक बजार केन्द्रमा पछिल्लो एक वर्षमा ३१ सयभन्दा बढी तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षण गरिएको छ । परीक्षणका क्रममा विषादीको मात्रा स्वीकृत मापदण्डभन्दा बढी भेटिएका नौ प्रकारका तरकारी नष्ट गरिएको छ भने केही कृषि उपजलाई क्वारेनटाइनमा राखेर पुनः परीक्षणपछि मात्र बजारमा पठाइएको छ ।
बुटवल उपमहानगरपालिका–६ स्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाका अनुसार २०८२ साउन १ गतेदेखि २०८३ असार मसान्तसम्म तीन हजार एक वटा तरकारी र ९९ वटा फलफूलका नमुना परीक्षण गरिएको हो । परीक्षण गरिएका कुल तीन हजार एक सय नमुनामध्ये दुई हजार ९६१ वटा नियमित र १३९ वटा शङ्कास्पद नमुना रहेका छन् ।
प्रयोगशालाका नायब प्राविधिक सहायक राजीव भण्डारीले दैनिक रूपमा बजारमा आएका तरकारी तथा फलफूलबाट नमुना सङ्कलन गरी परीक्षण गरिने जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षणका क्रममा नौ पटक विभिन्न तरकारीमा विषादीको मात्रा अत्यधिक भेटिएपछि ती कृषि उपज तत्काल नष्ट गरिएको थियो । त्यसैगरी ११ पटक गरी करिब दुई हजार दुई सय किलोग्राम तरकारी तथा फलफूललाई क्वारेनटाइनमा राखिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार विषादीको अवशेष तत्काल उपभोग गर्न नमिल्ने अवस्थामा देखिए पनि केही दिनपछि सुरक्षित हुन सक्ने भएकाले त्यस्ता कृषि उपजलाई तीनदेखि चार दिनसम्म प्राविधिकको निगरानीमा राखेर पुनः परीक्षण गरिन्छ । पुनः परीक्षणपछि सुरक्षित देखिएमा मात्र बजारमा बिक्रीका लागि अनुमति दिइने व्यवस्था रहेको उहाँले स्पष्ट पार्नुभयो ।
प्रयोगशालाका अनुसार रुपन्देहीको मर्चवार क्षेत्रमा उत्पादन भएका काउली र ब्रोकाउली चार पटक नष्ट गरिएको छ । त्यसैगरी मानपकडीमा उत्पादन भएको रायोको साग दुई पटक नष्ट गरिएको छ । चितवनबाट ल्याइएका काँक्रो र तनेबोडी, मकवानपुरबाट ल्याइएको काउली तथा कपिलवस्तुबाट आएका केही तरकारी पनि परीक्षणमा खान अयोग्य देखिएपछि नष्ट गरिएको जनाइएको छ ।
गत एक वर्षमा नेपालका २७ जिल्लाबाट ल्याइएका तरकारी तथा फलफूलका साथै भारत र सीमित मात्रामा चीनबाट आयात गरिएका कृषि उपजको समेत नमुना परीक्षण गरिएको प्रयोगशालाले जनाएको छ । परीक्षणका क्रममा रुपन्देहीबाट ल्याइएका तरकारी छ पटक, चितवनका दुई पटक तथा मकवानपुर र कपिलवस्तुका एक–एक पटकका कृषि उपज नष्ट गरिएको छ । भारतबाट ल्याइएको काँक्रालाई समेत एक पटक क्वारेनटाइनमा राखिएको थियो ।
क्वारेनटाइनमा राखिएका कृषि उपजमा रुपन्देही, चितवन, धादिङ, सल्यान र बारा जिल्लाबाट ल्याइएका तरकारी तथा भारतबाट आयात गरिएको केरा रहेका छन् । यस अवधिमा खुर्सानी, काँक्रा, करेला, काउली, घिरौँला र रायोको सागलाई क्वारेनटाइनमा राखिएको प्रयोगशालाले जनाएको छ । जिल्लागत रूपमा रुपन्देहीका कृषि उपज चार पटक, चितवनका दुई पटक, धादिङका दुई पटक र सल्यानका एक पटक क्वारेनटाइनमा राखिएका छन् ।
बुटवल कृषि उपज थोक बजार केन्द्रमा नेपालका विभिन्न जिल्लाका साथै भारत र चीनबाट तरकारी तथा फलफूल आउने गरेका छन् । यहाँबाट थोक व्यापारीहरूले चितवन, स्याङ्जा, बागलुङ, दाङ, रोल्पा, रुकुम, सुर्खेत तथा धनगढी लगायतका जिल्लामा कृषि उपज आपूर्ति गर्ने गरेका छन् ।
प्रयोगशालाले विषादी अवशेष द्रुत विश्लेषणसम्बन्धी निर्देशिकाअनुसार कारबाही प्रक्रिया पनि लागू गरेको जनाएको छ । पहिलो पटक विषादीको मात्रा बढी भेटिएमा सम्बन्धित किसान वा व्यापारीलाई मौखिक रूपमा सचेत गराइन्छ । दोस्रो पटक लिखित चेतावनी दिइन्छ भने तेस्रो पटक दोहोरिएमा दण्ड तथा जरिबाना गर्ने व्यवस्था रहेको नायब प्राविधिक सहायक भण्डारीले जानकारी दिनुभयो । यद्यपि पछिल्लो एक वर्षमा कुनै पनि किसान वा व्यापारीको कृषि उपजमा तेस्रो पटकसम्म विषादी भेटिएको अवस्था नरहेकाले कसैलाई जरिबाना गरिएको छैन ।
यसैबीच लुम्बिनी फलफूल तथा तरकारी व्यवसायी सङ्घका पूर्व अध्यक्ष भोजित शाहले विषादी परीक्षण बिक्री केन्द्रमा मात्र नभई उत्पादन स्थलमै प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उहाँले भारतबाट आउने तरकारी तथा फलफूल बुटवल आइपुग्दासम्म विषादीको प्रभाव स्वाभाविक रूपमा घट्न सक्ने भएकाले उत्पादन स्थलमै परीक्षणको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
उहाँका अनुसार पाल्पा, सल्यान लगायतका जिल्लाबाट बुटवल ल्याएर परीक्षण गर्नुभन्दा सम्बन्धित स्थानीय तहले उत्पादन क्षेत्रमै परीक्षण गरी सुरक्षित प्रमाणित गरेपछि मात्र बजार पठाउने व्यवस्था प्रभावकारी हुनेछ । बिहान नमुना सङ्कलन गरेर परीक्षण प्रतिवेदन आउँदासम्म केही तरकारी उपभोक्ताको भान्सासम्म पुगिसक्ने भएकाले परीक्षण प्रणालीलाई उत्पादन तहबाटै व्यवस्थित बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्