पर्याप्त वर्षा नहुँदा पर्वतमा ४० प्रतिशत खेत बाँझै
पर्वत । चालु आर्थिक वर्ष २०८३/८४ मा पर्वत जिल्लामा निर्धारण गरिएको धान खेती क्षेत्रफलमध्ये साउन पहिलो साता सम्ममा जम्मा ६० प्रतिशत धान रोपिएको छ । बाँकी ४० प्रतिशत धान खेती हुने जग्गा बाँझै रहेको छ ।

गत वर्ष असारको अन्तिमसम्ममा रोपाइँ हुने सबै जग्गामा रोपाई सम्पन्न हुने गरेको तथ्याङ्क रहे पनि यो वर्ष जम्मा ६० प्रतिशतमा मात्र धानखेति सम्पन्न भएको कृषि विकास कार्यालयले जनाएको छ ।
केही मात्रामा बाँकी रहेको तथ्याङ्क रहे पनि यो वर्ष भने सो अनुसारको रोपाई हुन नसकेको कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।
कृषि विकास कार्यालयकी वालि संरक्षण अधिकृत एवम् सूचना अधिकारी सोविता सुवेदीका अनुसार यस वर्ष पर्याप्त वर्षा नहुनु, मौसम परिवर्तन र केही स्थानमा धानको बिउको ब्याडमा ब्लास्ट रोग देखिनुले रोपाइँ प्रभावित भएको छ । यही कारण गत वर्षको तुलनामा धान उत्पादनमा समेत कमी आउने अनुमान गरिएको छ । गत वर्ष जिल्लामा प्रति हेक्टर २६ हजार आठ सय ३० मेट्रिक टन उत्पादन भएको तथ्याङ्क रहेको कृषि प्राविधिक सहायक मनीषा कुमालले बताउनुभयो ।

कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल लामिछानेका अनुसार जिल्लामा शङ्कर खुमल–४,गुडुरा, पोखरेली जेठोबुढो, गौरिया, पहेँले एक्ले, अनादी, विरम्फुली, उषा–३१२, च्याम्पियन लगायतका धानका जातको खेती हुँदै आएको छ । आवश्यक वर्षा हुने हो भने बाँकी रहेको रोपाइँ साउनको अन्तिम साता सम्ममा पर्वतका सबै ठाउँमा सकिने प्रमुख लामिछानेको भनाई छ । कार्यालयले १७–२३ डिग्री सेल्सियस तापक्रम, ८०–९० प्रतिशत आर्द्रता तथा गुम्सिएको वातावरणमा धानको मरुवा रोग फैलिन अनुकूल मानिएकाले किसानलाई समयमै रोकथामका उपाय अपनाउन आग्रह गरिएको छ ।
रोग नियन्त्रणका लागि बीउ उपचार, खेत तथा आलीका झारपात व्यवस्थापन, सन्तुलित मल प्रयोग, नियमित सिँचाइ र रोग प्रतिरोधात्मक धानका जातको प्रयोग गर्न विज्ञहरूले सुझाव दिएका छन् ।
रोगको प्रकोप बढी देखिएमा कार्बेन्डाजिम, ट्राइसाइक्लाजोल, हिनोसान वा बेभिस्टिनजस्ता सिफारिस गरिएका रोगनाशक विषादी निर्धारित मात्रामा प्रयोग गर्न कृषि प्राविधिक सहायक मनीषा कुमालले आग्रह गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्