तपाईँ सुन्दै हुनुहुन्छः

“ज्येष्ठ नागरिक ज्ञान, संस्कार तथा संस्कृतिका अपार भण्डार”

जनकपुरधाम । ज्येष्ठ नागरिकहरू ज्ञान, इतिहास, संस्कार र संस्कृतिका खानी भएकाले उहाँहरूको आत्मसम्मानमा ठेस पुर्‍याउने काम कही कतैबाट हुन नहुनेमा जोड दिइएको छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नंं १६ का कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिलाको सम्मान कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले ज्येष्ठ नागरिकहरूमा भएको ज्ञान, सीप तथा विचार आजको युवा पुस्ताले अनुसरण गर्न सके समाजमा देखापरेको कुविचारको अन्त्य गर्नमा मद्दत पुग्ने बताउनुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अम्बु साहले वडा कार्यालयले पहिलो पटक ज्येष्ठ नागरिक, अपाङ्ग तथा एकल महिलालाई सम्मानको कार्यक्रम गरेर निक्कै सराहनीय काम गरेको बताउनुभयो । 

मधेशवादी नेता संजय चौधरीले ज्येष्ठ नागरिकहरूमा भएको ज्ञान तथा अनुभव नयाँ पुस्ताले ग्रहण गर्न जरुरी रहेको बताउनुभयो । 

वडा नंं १६ का वडाध्यक्ष रामचन्द्र पञ्जियारले वडाका ६ सय ज्येष्ठ, अपाङ्ग तथा एकल महिलालाई सम्मान गर्ने कार्यक्रम रहेको बताउनुभयो । 

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी लुइँटेलले हरेक ज्येष्ठ नागरिक, अपाङ्ग तथा एकल महिलालाई दोसल्ला, छाता तथा झुल वितरणको शुभारम्भ गर्नुभएको थियो ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button