पर्साका स्थानीय तहलाई साक्षर घोषणा गर्ने सरकारी अभियान तीव्र

वीरगंज । पर्सा जिल्लामा साक्षरता प्रतिशत वृद्धि गर्न जिल्लाका स्थानीय तहलाई साक्षर घोषणा गर्ने सरकारी अभियान तीव्र पारिएको छ ।
यसै क्रममा वीरगन्ज महानगरपालिका लाई पूर्ण साक्षर पालिका घोषणा गर्ने अन्तिम तयारी भइरहेको छ । वीरगन्जसहित पर्साका ४ वटा स्थानीय तहलाई साक्षर घोषणा गर्ने अभियान अहिले अन्तिम चरणमा पुगेको छ ।
नेपाल सरकारको मापदण्डअनुसार १५ देखि ६० वर्ष उमेर समूहका कम्तीमा ९५ प्रतिशत नागरिक साक्षर भएपछि पालिकालाई पूर्ण साक्षर घोषणा गर्न सकिन्छ ।
वीरगन्ज महानगरपालिकाका ३२ मध्ये २२ वडाले तोकिएको मापदण्ड पूरा गरी साक्षरता हासिल गरिसकेका छन् र बाँकी ५ वडाको प्रक्रिया अन्तिम चरणमा रहेको छ ।
जिल्लाका १४ स्थानीय तहमध्ये बिगत एक बर्ष अगाडी नै ठोरी गाउँपालिका साक्षर घोषणा भएको थियो । त्यसपछि जीराभवानी गाउँपालिकाले पनि साक्षर पालिका घोषणा भएको थियो ।ठोरी पर्सा जिल्लाकै पहिलो (र समग्रमा मधेस प्रदेशकै सातौँ) साक्षर गाउँपालिका घोषित भएको हो, जहाँ ९८.८६% साक्षरता दर रहेको पाइएको थियो ।

अहिले वीरगन्ज महानगरपालिका सहित पर्साको बहुदरमाई नगरपालिका,सखुवाप्रसौनी र पकाहामैनपुर गाउँपालिकाले आवश्यक तथ्याङ्क सङ्कलन तथा मूल्याङ्कनको काम अन्तिम चरणमा पु¥याएका छन् ।
पकाहामैनपुर गाउँपालिकाले आफ्ना पाँचवटै वडामा गणक परिचालन गरी साक्षरतासम्बन्धी तथ्याङ्क सङ्कलन सम्पन्न गरिसकेको जनाएको छ । त्यसैगरी, सखुवाप्रसौनी गाउँपालिकामा छवटा वडामध्ये पाँचवटा वडाको गणना सम्पन्न भइसकेको छ भने एउटा वडाको तथ्याङ्क सङ्कलन कार्य बाँकी रहेको छ ।
यसैगरी, बहुदरमाई नगरपालिकाले १० वटा वडामध्ये पाँचवटा वडामा तथ्याङ्क सङ्कलन सम्पन्न गरिसकेको छ भने बाँकी पाँचवटा वडामा गणना कार्य जारी रहेको जनाएको छ । सम्बन्धित पालिकाहरूले सबै वडाको तथ्याङ्क सङ्कलन तथा प्रमाणीकरण सम्पन्न भएपछि औपचारिक रूपमा साक्षर घोषणा गर्ने तयारी गरेका छन् ।
पर्सा जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी कुल १४ स्थानीय तह रहेका छन् ।
स्थानीय तह, शिक्षा शाखा तथा सम्बन्धित निकायले तथ्याङ्क सङ्कलन, प्रमाणीकरण र सूचकको मूल्याङ्कनलाई प्राथमिकताका साथ अघि बढाएका छन् । अभियान सफल भएपछि जिल्लामा शिक्षाको पहुँच विस्तार हुनुका साथै नागरिकको आधारभूत साक्षरता र सामाजिक सहभागिता अझ सुदृढ हुने विश्वास गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्