प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
काठमाडौँ । निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको संसदीय सुनवाइ आगामी १२ र १३ गते हुने भएको छ ।

संसदीय सुनुवाई समितिको आजको बैठकले निर्वाचन आयोगका प्रमुख आयुक्तमा प्रस्तावित मानबहादुर कार्की र आयुक्तहरूमा प्रस्तावित डा.राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको संसदीय सुनवाइ साउन १२ र १३ गते गर्ने निर्णय गरेको हो ।
समितिले १२ गते मङ्गलवार निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित डा. सुब्बा र वाग्लेको संसदीय सुनुवााई गर्ने र र १३ गते बुधबार प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको संसदीय सुनुवाई गर्ने निर्णय गरेको समिति सभापति वोधनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
संसदीय सुनुवाई अगाडी समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरुद्ध परेको उजुरीमा छलफल गरी सुनुवाई गर्ने जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्की विरुद्ध एउटा उजुरी परेको र आयुक्तहरूमा प्रस्तावित सुब्बा र वाग्ले विरुद्ध कुनै पनि उजुरी नपरेको समिति सभापति श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै एउटा उजुरी संसदीय सुनुवाई समितिको कामकारवाहीलाई प्रभावकारी बनाउने विषयमा सुझावको रुपमा प्राप्त भएको पनि समितिले जनाएको छ ।
समितिमा प्राप्त उजुरी र प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको कार्ययोजना समिति सदस्यहरूलाई अध्ययनका लागि वितरण गरिएको छ ।
संसदीय सुनुवाइ समितिले प्रस्तावित व्यक्तिहरूलाई कार्ययोजना प्रस्तुतीकरणका क्रममा नतिजामा आधारित कार्ययोजना ल्याउन आग्रह समेत गरेको छ ।
गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की र निर्वाचन आयुक्त पदमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्