तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले नेदरल्यान्ड्स र नामिबियासँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले घरेलु टोली नेदरल्यान्ड्स र नामिबियासँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्दैछ । 

नेपालले पहिलो खेल नामिबियासँग मङ्गलवार दिउँसो पौने तीन बजे खेल्नेछ । नेदरल्यान्डको उत्रेथमा हुने सिरिजमा नेपालले दोस्रो खेल घरेलु टोलीसँग बिहीबार खेल्नेछ । यस्तै तेस्रो खेल आगामी सोमबार नामिबियासँग तेस्रो र त्यसको दुई दिनपछि अन्तिम खेलमा नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । 

लिग–२ को सात वटा सिरिज खेलिसक्दा नेपाल २८ खेलबाट २४ अंक जोड्दै पाँचौँ स्थानमा छ । 

अंक तालिकामा शीर्ष स्थानको अमेरिकाको ३२ खेलबाट ४३ अंक छ भने समान खेल खेलेको दोस्रो स्थानको स्कटल्यान्डको ३८ अंक रहेको छ । 

नेदरल्यान्ड्स २८ खेलबाट ३२ अंक जोडेर तेस्रो स्थानमा रहँदा समान खेलबाट ३१ अंक बटुलेको ओमान चौथो स्थानमा छ । नेपाल पाँचौँ रहँदा छैटौँ स्थानको क्यानडाको पनि समान २४ अंक नै छ । नामिबिया २२ अङ्कसहित सातौं र युएई १४ अंक जोडेर पुछारमा छ ।  

लिग–२ को शीर्ष चारमा परेर विश्वकप छनोटमा पुग्नका लागि नेपाललाई यो सिरिज महत्वपूर्ण छ । यो सिरिजपछि नेपालले लिग–२ साइकलको अन्तिम सिरिज अक्टोबरमा घरेलु टोली ओमान र क्यानडासँग खेल्नेछ ।

तर कीर्तिपुरमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डविरुद्ध खेलेका आठ खेलमध्ये छ खेल जित्दै नेपालले १२ महत्त्वपूर्ण अंक जोड्यो र अङ्कतालिकामा पाँचौँ स्थानमा उक्लियो । त्यससँगै शीर्ष चारको सम्भावना फेरि बलियो बन्यो ।

अब भने नेपालको बाँकी यात्रा घरभन्दा बाहिर हुनेछ । नेदरल्यान्डपछि नेपालले ओमानमा ओमान र क्यानडाविरुद्ध अर्को शृङ्खला खेल्नेछ । नेपालले अघिल्लो लिग–२ चक्रमा अन्तिम चरणमा लगातार जित निकाल्दै विश्वकप छनोटसम्मको यात्रा तय गरेको थियो । 

नेदरल्यान्डमा सुरु हुने यो शृङ्खला नेपालका लागि केवल अंक जोड्ने अवसर मात्र होइन, विश्वकप छनोटको यात्रालाई जीवित राख्ने सबैभन्दा महत्त्वपूर्ण परीक्षा पनि हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button