कोलकाता–विराटनगर कार्गो रेल सञ्चालन
विराटनगर । भारतको कोलकाताबाट विराटनगर कार्गो रेल सञ्चालनमा आएको छ । ढुवानी गरिएको औद्योगिक कच्चा पदार्थ बोकेको रेल आज एकीकृत जाँच चौकी विराटनगरमा आइपुगेको छ । कार्गो रेललाई विराटनगर भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठ, व्यापारी,उद्यमी एवं सर्वसाधारणले स्वागत गरेका थिए ।

नेपाल–भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगर–१८ वुधनगर भेडियारी स्थित नेपाल भन्सार यार्डसम्म रेलबाट मालसामान ढुवानी गर्ने व्यवस्था अनुसार रेल विराटनगर आइपुगेको हो ।
स्वस्तिक आयलले खानेतेल उत्पादनका लागि मगाएका औद्योगिक कच्चा पदार्थ यही साउन १ गते कोलकाता बन्दरगाहदेखि विराटनगरका हिँडेको थियो ।
उक्त कार्गो रेलमा ४० कन्टेनर खानेतेल उत्पादन गर्ने दाना रहेको विराटनगर भन्सार कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल, कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेड अधिकारीहरूले संयुक्त रूपमा उक्त कार्गो रेलको बिदाइ गर्नुभएको थियो ।
विराटनगर आइपुगेको यो रेल सेवा पूर्ण रूपमा सञ्चालनमा आउँदा एकै पटकमा ४५ वटासम्म ४० फिटका कार्गो कन्टेनरहरू रेलमार्फत सिधै विराटनगर पठाउन सकिने नेपाली वाणिज्य दूतावास कलकत्ताले जनाएको छ ।
सडक मार्गको तुलनामा रेल कार्गो सुरक्षित, भरपर्दो र न्यून लागत हुनुका साथै करिब २४ घण्टाको समय अवधिमा विराटनगर पुग्ने भएकाले यसबाट आयात सहज हुनेछ व्यापारीहरूको भनाइ छ ।
यसअघि विराटनगरमा कार्गो रेल वि.सं. २०८० जेठ १८ गते आएको थियो ।








प्रतिक्रिया राख्नुहोस्