पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्री शाहले छलफल गर्नुहुँदै
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले आज मध्यान्ह १२: ०० बजे पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग विशेष छलफल गर्दै हुनुहुन्छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने उक्त बैठकमा नियमनकारी निकाय तथा बजारका प्रमुख सरोकारवालाहरूको उपस्थिति रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान र नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया सहभागी हुँदै हुनुहुन्छ।
यसैगरी, बीमा र लगानी क्षेत्रको तर्फबाट नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठका साथै पुँजी बजारका विज्ञ तथा लगानीकर्ताहरू प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेलको पनि बैठकमा सहभागिता रहने कार्यक्रम छ।
बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, आसन्न नीतिगत सुधारका प्रयासहरू र समग्र राष्ट्रिय अर्थतन्त्रका विभिन्न समसामयिक विषयहरूमा केन्द्रित रहेर सरोकारवालाहरूसँग बृहत् छलफल हुने जनाइएको छ।
लामो समयदेखि नीतिगत अलमलमा परेका बजारका सुधारका एजेन्डाहरूलाई गति दिन र देशको अर्थतन्त्रको ऐना मानिने सेयर बजारलाई थप पारदर्शी एवं बलियो बनाउन यो बैठक निकै महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।







प्रतिक्रिया राख्नुहोस्