रौतहटमा ट्रकले दुई यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ घाइते

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा शनिबार बिहान ट्रकले दुई यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शनिबार बिहान करिब १ बजे जनकपुरबाट गरुडातर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौँबाट धरानतर्फ जाँदै गरेका बा.प्र.०३–००१ ख ५२८४ र बा.प्र.०३–००१ ख ३६६० नम्बरका यात्रुवाहक बसलाई ठक्कर दिएको हो । ठक्करपछि ३६६० नम्बरको बस सडकमा पल्टिँदा पूर्व–पश्चिम राजमार्ग दुवैतर्फ अवरुद्ध भएको थियो । प्रहरीको सक्रियतामा बिहान २ः३० बजेदेखि राजमार्ग पुनः सञ्चालनमा आएको थियो ।
दुर्घटनामा ट्रकका सहचालक धनुषा धनुषाधाम नगरपालिका–९ का ६० वर्षीय लालबहादुर तामाङ, बस चालक मकवानपुरका ४३ वर्षीय विकास पौडेल तथा बसमा सवार उदयपुरका प्रदीप खड्का, सुनसरीकी निर्मला देवी गुप्ता, मोरङका रितु वर्ण कार्की, मेघराज कार्की, सुनसरीका सफल मगर र दिलमाया कार्की घाइते भएका छन् । अधिकांशको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ । रितु वर्ण कार्की, मेघराज कार्की र दिलमाया कार्कीलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको छ भने बस चालक विकास पौडेललाई हेटौँडास्थित अर्थोपेडिक अस्पताल पठाइएको छ ।
ट्रक चालक महोत्तरी बर्दिबासका करिब ३५ वर्षीय लालबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक बसन्त गौतमले दुर्घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार, घाइतेको उपचार र सडक सञ्चालनलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँका अनुसार पल्टिएको बसका कारण केही समय राजमार्ग पूर्ण रूपमा अवरुद्ध भए पनि करिब डेढ घण्टामै सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो । “घाइते सबैको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । ट्रक चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ,” प्रहरी नायब उपरीक्षक गौतमले बताउनुभयो ।
प्रहरीका अनुसार अर्को यात्रुवाहक बस (बा.प्र.०३–००१ ख ५२८४) मा सामान्य क्षति पुगे पनि त्यसमा सवार यात्रुहरू सुरक्षित रहेका छन्। दुर्घटनामा संलग्न ट्रक र पल्टिएको बसलाई सडक छेउमा सारिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्