तपाईँ सुन्दै हुनुहुन्छः

स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने

लन्डन। लेबर पार्टीका वरिष्ठ नेता तथा ग्रेटर म्यानचेस्टरका पूर्वमेयर एन्डी बर्नहम सोमबार बेलायतका नयाँ प्रधानमन्त्री बन्नुहुने भएको छ । उहाँले गत महिना राजीनामा घोषणा गर्नुभएका किअर स्टार्मरलाई प्रतिस्थापन गर्नुहुनेछ ।

लेबर पार्टीका वरिष्ठ नेता तथा ग्रेटर म्यानचेस्टरका पूर्वमेयर एन्डी बर्नहम ।

सत्तारुढ लेबर पार्टीको नेताका रूपमा स्टार्मरको उत्तराधिकारी चयन गर्ने प्रक्रियामा बर्नहम एक्लो उम्मेदवार बन्नुभएको थियो । बेलायती संसदीय परम्पराअनुसार संसदको तल्लो सदन हाउस अफ कमन्समा बहुमत रहेको दलका नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ । बर्नहमले लेबर पार्टीका ४०१ सांसदमध्ये ३४९ जनाको समर्थन प्राप्त गरेपछि शुक्रबार पार्टीको विशेष सम्मेलनबाट उहाँलाई नेता घोषणा गरिएको थियो । 

यद्यपि, उहाँ औपचारिक रूपमा सोमबार मात्र प्रधानमन्त्री बन्नुहुनेछ । त्यसका लागि उहाँले बकिङ्घम दरबारमा राजा चाल्र्स तृतीयसँग भेट गरी सरकार गठनको निम्तो प्राप्त गर्नुहुनेछ । त्यसअघिसम्म स्टार्मरले कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नुहुनेछ ।

आम निर्वाचन किन आवश्यक परेन ?
बेलायतको संसदीय व्यवस्थामा आम निर्वाचन बिना नै सत्तारुढ दलले आफ्नो नेता परिवर्तन गर्न सक्छ । प्रधानमन्त्रीले दलको नेतृत्वबाट राजीनामा दिएमा वा नेतृत्व चुनौतीका कारण पद छोडेमा सो दलले आन्तरिक प्रक्रियाबाट नयाँ नेता चयन गर्न सक्छ । नयाँ नेता नै संसदमा बहुमत भएको अवस्थामा प्रधानमन्त्री बन्ने व्यवस्था छ । बेलायतमा अर्को आम निर्वाचन सन् २०२९ सम्म गर्नुपर्ने छैन । सन् २०२४ को निर्वाचनपछि लेबर पार्टीले बहुमतसहित सरकार गठन गरेको थियो ।

स्टार्मरले गत जुन २२ मा लेबर पार्टीको नेतृत्वबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । उहाँको नेतृत्व विभिन्न विवाद र राजनीतिक चुनौतीका कारण आलोचित बनेको थियो । विशेष गरी यौन अपराधमा दोषी ठहरिएका जेफ्री एपस्टिनसँग सम्बन्धित व्यक्तिलाई अमेरिकाका लागि बेलायती राजदूत नियुक्त गर्ने निर्णयले उहाँलाई थप दबाबमा पारेको थियो ।

मे महिनामा भएको स्थानीय निर्वाचनमा लेबर पार्टीले ठूलो पराजय बेहोरेपछि पार्टीभित्र स्टार्मरको नेतृत्वमाथि प्रश्न उठेको थियो । बर्नहमले संसदको उपनिर्वाचन जितेपछि उहाँ पार्टी नेतृत्वका लागि बलियो दाबेदार बन्नुभएको थियो । लेबर पार्टीको नियमअनुसार, नेतृत्व चुनौती दिन हाउस अफ कमन्समा रहेका पार्टीका कम्तीमा २० प्रतिशत सांसदको समर्थन आवश्यक पर्छ । बर्नहमले आवश्यक समर्थन सजिलै जुटाएपछि उहाँ निर्विरोध नेता चयन हुनुभएको हो ।

एक दशकमा सातौँ बेलायती प्रधानमन्त्री
बर्नहम एक दशकभित्र बेलायतका सातौँ प्रधानमन्त्री बन्नुहुनेछ । संसदीय प्रणालीका कारण बेलायतमा आम निर्वाचनबाहेक पनि प्रधानमन्त्री परिवर्तन हुने गरेको छ । पछिल्लो दशकमा चार जना प्रधानमन्त्री आम निर्वाचन जितेर नभई पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धामार्फत सत्तामा आएका थिए । कन्जरभेटिभ पार्टीका थेरेसा मे र बोरिस जोनसन आफ्ना पूर्ववर्तीको राजीनामापछि प्रधानमन्त्री बन्नुभएको थियो ।

त्यस्तै, सन् २०२२ मा जोनसनले पद छोडेपछि लिज ट्रस प्रधानमन्त्री बन्नुभयो । तर, ४९ दिनमै उहाँले राजीनामा दिएपछि सोही प्रक्रियाबाट ऋषि सुनक प्रधानमन्त्री बन्नुभएको थियो । बर्नहमको आगमनसँगै पछिल्लो दशकमा बेलायती राजनीतिमा प्रधानमन्त्री परिवर्तनको क्रम अझै तीव्र बनेको छ । युरोपेली सङ्घबाट बेलायत बाहिरिने निर्णय (ब्रेक्जिट) पछिका राजनीतिक र आर्थिक चुनौती व्यवस्थापनमा यस अवधिका सरकार आलोचनामा पर्दै आएका छन् ।

सत्ता हस्तान्तरणको परम्परागत प्रक्रिया
बेलायतमा प्रधानमन्त्री परिवर्तनको प्रक्रिया लामो समयदेखि स्थापित परम्पराअनुसार हुँदै आएको छ । सोमबार स्टार्मरले बकिङ्घम दरबार पुग्नुअघि जनताका नाममा बिदाइ सम्बोधन गर्ने र राजासमक्ष औपचारिक राजीनामा बुझाउनुहुनेछ ।

त्यसपछि बर्नहम दरबार पुग्नुहुनेछ, जहाँ राजा चाल्र्स तृतीयले उहाँलाई सरकार गठन गर्न औपचारिक निम्तो दिनुहुनेछ । बेलायती परम्परामा यस प्रक्रियालाई ‘किसिङ अफ ह्यान्ड्स’ भनिन्छ, यद्यपि अहिले सामान्यतया हात मिलाएर औपचारिकता पूरा गरिन्छ । दरबारबाट बाहिरिएपछि बर्नहम बेलायतका ५९औँ प्रधानमन्त्री बन्ने र त्यसपछि लन्डनस्थित प्रधानमन्त्रीको सरकारी निवास ‘टेन डाउनिङ स्ट्रिट’ पुगेर पहिलो सम्बोधन गर्ने अपेक्षा गरिएको छ । रासस/एपी 

प्रतिक्रिया राख्नुहोस्

Back to top button