बुटवलको घना बस्तीमाथिबाट ३३ केभी हाईटेन्सन लाइन हटाइयो, ५५० भन्दा बढी घरधुरी जोखिममुक्त
रुपन्देही। बुटवलको घना बस्तीमाथिबाट लामो समयदेखि गुज्रिएको ३३ केभी उच्च भोल्टेज (हाईटेन्सन) विद्युत् प्रसारण लाइन स्थानान्तरण गरिएको छ । यससँगै बुटवल उपमहानगरपालिका–३ का करिब ५५० भन्दा बढी घरधुरी प्रत्यक्ष विद्युत् दुर्घटनाको जोखिमबाट मुक्त भएका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलदेखि उत्तरतर्फ रहेका १६ वटा विद्युत् पोलमा जोडिएको करिब एक हजार ७०० मिटर लामो हाईटेन्सन लाइन हटाइएको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार घना बस्तीमाथिबाट गुज्रिएको यस्तो प्रकृतिको प्रसारण लाइन स्थानान्तरण गरिएको यो नेपालकै पहिलो उदाहरण हो ।
वडा नं.–३ का अध्यक्ष विष्णुप्रसाद ढकालले बुटवल उपमहानगरपालिकाको पहल, नेपाल विद्युत् प्राधिकरणसँगको समन्वय र स्थानीयवासीको निरन्तर दबाबपछि वर्षौंदेखिको समस्या समाधान भएको बताउनुभयो । उहाँका अनुसार हाईटेन्सन लाइनका कारण स्थानीयवासी विद्युत् दुर्घटनाको त्रासमा बस्न बाध्य थिए ।
स्थानीय उमेश अधिकारीले हाईटेन्सन लाइनका कारण आगलागी, करेन्ट चुहावटलगायत दुर्घटनाको जोखिम सधैं रहने गरेको बताउँदै घर निर्माण सम्पन्न प्रमाणपत्र (कम्प्लिसन) प्राप्त गर्नसमेत कठिनाइ हुने गरेको उल्लेख गर्नुभयो । लाइन हटाइएपछि सुरक्षित वातावरणमा बस्न, घर निर्माण तथा मर्मतलगायत पूर्वाधार विकासका काम सहज हुने उहाँले बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नागरिकको सुरक्षा र व्यवस्थित सहरी विकासलाई प्राथमिकतामा राख्दै जोखिमयुक्त पूर्वाधार व्यवस्थापनलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले हावाहुरीका बेला तार लत्रिने, करेन्ट लाग्ने तथा घर सम्पन्न प्रमाणपत्र प्राप्त गर्न नसक्ने समस्या अब अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल विद्युत् प्राधिकरण वितरण शाखा बुटवलका पूर्व प्रमुख कपिलराज पाण्डेयका अनुसार सन् १९६५ मा तत्कालीन तिनाउ विद्युत् पावर कम्पनीबाट उत्पादन भएको विद्युत् बुटवल पावर कम्पनीको कार्यालयसम्म पुर्याउन उक्त प्रसारण लाइन निर्माण गरिएको थियो । त्यसबेला आसपास बस्ती नरहे पनि समयसँगै बाक्लो बस्ती विकास भएपछि जोखिम बढ्दै गएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार नीतिगत जटिलताका कारण लामो समयदेखि रोकिएको काम तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेल, तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ, स्थानीय सरकार र सम्बन्धित निकायको समन्वयमा वैकल्पिक मार्ग पहिचान गरी स्वीकृति पाएपछि सम्पन्न भएको हो । उहाँले यो निर्णय अन्य स्थानका लागि पनि नजिर बन्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल विद्युत् प्राधिकरण वितरण शाखा बुटवलका प्रमुख रितेश गुप्ताले केन्द्रीय बोर्डले गत चैतमै लाइन स्थानान्तरण गर्ने निर्णय गरेको जानकारी दिँदै प्राविधिक अध्ययन, अनुगमन र प्रशासनिक प्रक्रिया पूरा गर्न समय लागेकाले कार्यान्वयनमा केही ढिलाइ भएको बताउनुभयो ।
उहाँका अनुसार बुटवलको राजमार्ग चौराहादेखि बेसक्याम्पसम्म रहेको करिब एक हजार ८०० मिटर लामो ३३ केभी हाईटेन्सन लाइन स्थानान्तरण गर्ने प्रक्रिया पनि अघि बढाइएको छ । त्यस क्षेत्रका स्थानीयलाई पनि आगामी दिनमा यस्तै जोखिमबाट मुक्त गरिने उहाँले जानकारी दिनुभयो।







प्रतिक्रिया राख्नुहोस्