फन्टी खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती

वीरगञ्ज । पर्साको ग्रामीण क्षेत्रको मेरुदण्डको रुपमा रहेको जनता सडकस्थित फन्टी खोलामा पुल नबन्दा वर्षायाममा स्थानीय बासिन्दाले सास्ती खेप्दै आएका छन् ।
जिल्लाको उत्तरी भेगमा रहेको जीतपुरदेखि पश्चिम ठोरीसम्म जोड्ने मुख्य सडकका रूपमा परिचित जनता सडक अन्तर्गत पर्सागढी नगरपालिका–३ स्थित फन्टी खोलामा पुल नहुँदा वर्षायाममा स्थानीय बासिन्दा र यात्रुले प्रत्येक वर्ष सास्ती भोग्दै आइरहेका छन् ।
वर्षायाम सुरु भएसँगै फन्टी खोलामा बाढी आउन थालेपछि जनता सडक अवरुद्ध हुने गरेको छ । यसका कारण पूर्वदेखि पश्चिम ठोरीसम्म आवतजावत गर्ने सर्वसाधारण, विद्यार्थी, कर्मचारी तथा व्यापारीहरू प्रत्यक्ष रूपमा प्रभावित हुने गरेका छन् । खोलामा पानी बढेपछि सडक नै बन्द हुने अवस्था सिर्जना हुने भएकाले यात्रुहरू जोखिम मोलेर खोला पार गर्न बाध्य हुने गरेका छन् ।
स्थानीयका अनुसार कतिपय सवारी चालकले जोखिमपूर्णरूपमा खोला पार गर्ने प्रयास गर्दा सवारीसाधनको इन्जिनमा पानी पस्ने र ठूलो आर्थिक क्षति हुने गरेको छ ।
त्यस्तै, पैदल यात्रु तथा मोटरसाइकल चालकहरू बग्ने, लड्ने तथा घाइते हुने घटना पनि पटक–पटक दोहोरिने गरेको स्थानीयको भनाइ छ ।
खोला पार गर्न नसक्ने अवस्थामा यात्रुहरूले वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । त्यसका लागि एक किलोमिटरभन्दा बढी दूरी घुम्नुपर्ने भएकोले समय, श्रम र खर्चसमेत बढ्ने गरेको छ । यसले स्थानीय जनजीवनसँगै दैनिक आर्थिक गतिविधिमा समेत असर पार्दै आएको छ ।
स्थानीय बासिन्दाले फन्टी खोलामा स्थायी पुल निर्माण गर्न पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि हालसम्म स्थानीय सरकार, प्रदेश सरकार वा सङ्घीय सरकारबाट कुनै ठोस पहल हुन नसकेको गुनासो गरेका छन् । उनीहरूले बर्सेनि दोहोरिने समस्या समाधानका लागि यथाशीघ्र पुल निर्माण प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्