तपाईँ सुन्दै हुनुहुन्छः

साउने सङ्क्रान्ति: कर्णालीभर झराको राँको बाल्ने परम्परा अझै जीवितै

मुगु। कर्णाली प्रदेशका विभिन्न जिल्लामा आज साउने सङ्क्रान्ति पर्वका अवसरमा परम्परागत रूपमा झराको राँको बालेर उत्साहका साथ मनाइँदैछ।

आधुनिक जीवनशैली र प्रविधिको विकाससँगै कतिपय पुराना संस्कारहरू हराउँदै गए पनि कर्णालीका ग्रामीण बस्तीहरूमा भने यो मौलिक परम्परा अझै जीवितै रहेको हो।

मुगु, हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, दैलेख, जाजरकोट, सुर्खेत, सल्यान र रुकुम पश्चिमका ग्रामीण क्षेत्रमा साउने सङ्क्रान्तिको साँझ झराको राँको बाल्ने चलन छ। जङ्गलबाट ल्याइएको खोटोयुक्त काठ (झरा) बाट बनाइएको राँको बालेर घरआँगन, छत तथा गाउँ वरिपरि घुमाउने गरिन्छ।

पुस्तौँदेखि चल्दै आएको यो परम्परामा बालबालिका, युवा तथा ज्येष्ठ नागरिकसमेत सहभागी हुने गर्छन्। गाउँभरि राँकोको उज्यालोसँगै शुभकामना साटासाट गर्ने, आफन्त भेटघाट गर्ने र सामूहिक रूपमा पर्व मनाउने चलनले सामाजिक एकता र सद्भावलाई थप मजबुत बनाउने स्थानीयको भनाइ छ।

साउने सङ्क्रान्तिका अवसरमा कर्णालीका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा मेला लाग्ने परम्परा पनि छ। विशेषगरी मुगुको रारा ताल, लखुपाटन, गम्गी चौर, मिली र बाजथला, जुम्लाको चन्दननाथ क्षेत्र, हुम्लाको लिमी क्षेत्रलगायतका स्थानमा स्थानीय मेला तथा धार्मिक गतिविधि सञ्चालन हुने गरेका छन्।

आधुनिक जीवनशैलीका कारण कतिपय परम्परा लोप हुने अवस्थामा पुगे पनि कर्णालीका अधिकांश ग्रामीण क्षेत्रमा साउने सङ्क्रान्तिमा झराको राँको बाल्ने मौलिक संस्कृति अझै संरक्षण हुँदै आएको स्थानीय बासिन्दाले बताएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button