वीरगंज भन्सारद्वारा २ खर्ब ४३ अर्ब ८२ करोड राजस्व सङ्कलन
वीरगंज । मुलुकको प्रमुख भन्सार नाकाको रुपमा रहेको बीरगंज भन्सार कार्यालयले गत आर्थिक बर्ष २०८२/०८३ अर्थात् एक वर्षको अवधिमा २ खर्ब ४३ अर्ब ८२ करोड राजस्व असुली गरेको छ ।

अर्थ मन्त्रालय भन्सार विभागले वीरगंज भन्सार कार्यालय (आईसीपी) लाई आर्थिक बर्ष २०८२/०८३ को लागी २ खर्ब ७३ अर्ब ३७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य तोकेको थियो । आईसिपी बीरगंजले एक वर्षको अवधिमा तोकिएको लक्ष्यको ८९ दशमलब १९ प्रतिशत राजस्व असुली गरेको छ ।
अर्थ मन्त्रालयले तोकेको लक्ष्य भन्दा एक वर्षमा २९ अर्ब ५५ करोड कम राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
देशकै दुई ठूला भन्सार कार्यालय वीरगन्ज भन्सार कार्यालय र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय गाभिएको १ बर्ष पुगेसँगै सो अवधिमा आईसिपी भन्सारले उक्त परिमाणमा राजश्व संकलन गर्न सकेको प्रमुख भन्सार प्रशासक मैनालीले बताउनुभयो ।

प्रमुख भन्सार प्रशासक मैनालीले एमआरपि विवाद, पेट्रोलियम पदार्थको आयातमा कमी, निर्वाचन, र वर्षायाम, डुबानको कारण माल सामान आयात निर्यात प्रभावित हुँदा राजश्व असुली लक्ष्य भेट्टाउन नसकिएको बताउँदै अघिल्लो आर्थिक वर्ष को २०८१/०८२ मा भन्दा आर्थिक बर्ष २०८२/०८३ मा भने बढी राजश्व संकलन गर्न सफलता मिलेको जानकारी दिनुभयो ।
यसैबिच मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालय (आईसिपी) र सिर्सीया सुख्खा बन्दरगाह कार्यालयले आर्थिक बर्ष ०८१/०८२ मा २ खर्ब २५ अर्ब ७६ करोड १३ लाख राजश्व असुली गरेका थिए । आर्थिक बर्ष ०८२/०८३ बाट भने दुवै भन्सार एकिकृत रुपमा सञ्चालन भएको छ ।
गत आर्थिक बर्ष २०८१/०८२ को तुलनामा आर्थिक वर्ष ०८२/०८३ मा वीरगन्ज भन्सारले १८ अर्ब ६ करोड बढी राजस्व सङ्कलन गर्न सफल भएको छ ।
वीरगंज भन्सार कार्यालयले आर्थिक वर्ष ०८२/०८३ को साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब नौ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड, मङ्सिरमा २० अर्ब ८० करोड राजस्व सङ्कलन गरेको थियो । यसैगरी, पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड र चैतमा २२ अर्ब ८२ करोड वैशाखमा २१ अर्ब ७४ करोड , जेठमा २२ अर्ब ८ करोड ४५ लाख र असारमा २२ अर्ब ४ करोड राजस्व सङ्कलन गरेको प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले बताउनुभयो








प्रतिक्रिया राख्नुहोस्