अर्थ समिति बैठक: पुँजी बजारलाई पारदर्शी र प्रविधिमैत्री बनाउन सांसदहरूको जोड
काठमाडौँ। सांसदहरूले पूँजीबजारमा साइबर सुरक्षाको सुदृढीकरण, वित्तीय साक्षरताको विस्तार र विदेशी लगानी आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको आज बसेको बैठकमा सांसदहरूले आईपीओ निष्कासन सम्बन्धी विषयमा पारदर्शिता सुनिश्चित गर्न प्रभावकारी संयन्त्र विकास गरी अनियमितताप्रति शून्य सहनशीलताको नीति अपनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल धितो पत्र बोर्डको आर्थिक वर्ष २०८२/८३ मा भएका मुख्य कामकारबाही लगायतका विषयमा भएको छलफलमा सांसदहरूले धितो पत्र बजारलाई वास्तविक अर्थतन्त्रसँग प्रभावकारी रूपमा जोड्नुपर्ने र बजारलाई सुदृढ बनाउँदै तरलताको उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
सांसदहरूले काठमाडौँ केन्द्रित पूँजीबजारको पहुँचलाई विकेन्द्रीकरण गर्दै ग्रामीण क्षेत्रमा समेत लगानीसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्ने र उत्पादनमूलक क्षेत्रमा पुँजी परिचालन बढाउने उपाय अवलम्बन गर्नुपर्ने औँल्याउनुभयो ।
बैठकमा नेपाल धितो पत्र बोर्डका अध्यक्ष गोपालप्रसाद भट्टले धितो पत्र निष्कासनसम्बन्धी प्रक्रिया र प्रतिस्पर्धी पुँजी बजार विकास गर्न अन्तर्राष्ट्रिय अभ्यास र मापदण्ड अनुसार नीतिगत सुधार र रणनीति तयार भइरहेको जानकारी दिनुभयो ।
अध्यक्ष भट्टले पुँजी बजारको जोखिम व्यवस्थापन बारे सर्वसाधारणले बुझ्ने गरी लगानीकर्ता शिक्षा अभिवृद्धि गर्न तथा पुँजी बजारलाई लगानीमैत्री, प्रविधिमैत्री र निजी क्षेत्रमैत्री बनाउन बोर्ड प्रतिबद्ध रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्