तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: विपदजोखिम न्यूनीकरण गरी जनताको जीउधनको रक्षा गर्न सांसदहरूको माग 

काठमाडौँ । प्रतिनिधिसभामा सांसदहरूले विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रणमा ध्यान र जनताको जीउधनको रक्षा गर्न सरकारसँग माग गर्नुभएको छ ।

सांसदहरुले अविरल वर्षाका कारण कालीकोट, जाजरकोट, कैलालीलगायतका जिल्ला बढी प्रभावित भएकाले पीडित पक्षलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो । 

सांसदहरुले डोटीको सायल गाउँपालिकामा पहिरोका कारण जनजीवन अस्तव्यस्त भएको तथा प्रकोपको जोखिम उच्च रहेको उल्लेख गर्दै प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरु प्राकृतिक प्रकोपद्वारा उत्पन्न हुने विपद् जोखिम न्यूनीकरणका पक्षमा सरकारले ल्याएको भनिएको कार्ययोजना प्रस्तुत गर्न माग गर्नुभयो । 

त्यसपछि सभामुख डोल प्रसाद अर्यालले विपद्जन्य घटनाका कारण हुनसक्ने मानवीय एवं भौतिक क्षति न्युनिकरणका लागि प्रभावकारी विपद् पूर्व तयारीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।    

सभामुख अर्यालले अविरल वर्षासँगै बाढी, पहिरो तथा डुबानका घटनाहरू घटनाहरू बढेको भन्दै विपद्जन्य घटनामा परेकाहरूको राहत तथा उद्धारको व्यवस्था गर्न तथा सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।  

बैठकमा सांसदहरुले गणेश नेपालीको घटना र त्यसपछि राजधानीमा भएका घटनाहरू निकै गम्भीर भएको भन्दै आमसञ्चार माध्यम, दलका नेताका घर र न्युरोड लगायतका स्थानमा गाडी तेर्स्याइयो विषयमा सत्यतथ्य छानविन गर्न माग गर्नुभयो ।

सांसदहरुले सञ्चार माध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर सञ्चार गृहलाई तर्साउन खोजिएको भन्दै सबै सञ्चार गृह र पत्रकारहरूको निर्बाध काम गर्न पाउने सुरक्षाको प्रत्याभूति दिन गृह प्रशासन र सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले विस्थापित सुकुमवासीहरू राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीले डुबाएको तथा उद्धारमा खटिएका व्यक्तिहरूमाथि दुर्व्यवहार समेत भएको भन्दै कीर्तिपुरको होल्डिङ सेन्टरमा बसेका सुकुमवासीको व्यवस्थापन छिटो गर्न माग राख्नुभयो । 

सांसदहरुले सांसदहरुले महँगीको प्रत्यक्ष मार गरिब श्रमिक वर्गमा परेको भन्दै महँगी, कालोबजारी र बिचौलिया तन्त्र नियन्त्रण गरी जनतालाई राहत दिनमा केन्द्रित हुन सुझाव दिँदै प्रधानमन्त्री बालेन शाह जनप्रतिनिधिको सर्वोच्च संसदमा उपस्थित भएर सांसदहरुले उठाएको जवाफ दिन माग गर्नुभयो ।

सांसदहरुले भदौ २३ र २४ को घटनाका विषयमा मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो ।

सांसदहरुले विद्युत् अवरोधबाट जनताले भोगेका समस्या समाधान, मापदण्डविपरीत खनेर अलपत्र छोडिएका सडकका खाल्डाखुल्डीले निम्त्याएको समस्या, सिराहामा तीन बालबालिका खाल्डामा भरिएको पानीमा डुबेर मृत्यु भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले सडक पूर्वाधार राम्रो नहुँदा सडक दुर्घटना बढेको तथा वर्षायाममा झनै जोखिम बढेको समयमा नै जोखिमयुक्त सडकको अवस्था जानकारी गराउने र दुर्घटना न्यूनीकरणको उपाय अवलम्बन गर्न माग गर्नुभयो ।

यसैबीच, प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी देश हित विपरीतको अभिव्यक्ति फिर्ता नलिएको भन्दै विरोध कायम राखेका छन् ।

बैठकमा प्रतिपक्षी दलका सांसदहरुले देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने जिम्मेवारी सरकारको भए पनि प्रधानमन्त्री शाहले नै नेपालले भारतको सीमा नेपालले मिचेको भनेर गलत अभिव्यक्ति दिएकाले उक्त अभिव्यक्ति फिर्ता लिएर संसद्को रेकर्डबाट हटाउनुपर्ने माग राख्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button