तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री गुरुङ र मिटरब्याज पीडितहरूबीच पहिलो चरणको वार्ता सम्पन्न 

वीरगञ्ज। गृहमन्त्री सुधन गुरुङ र मिटरब्याज पीडितहरू बिच बाराको निजगढमा आज दिउँसो  पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।

सरकारको तर्फबाट मिटरब्याज पीडितहरूसँग वार्ता गर्न पुग्नुभएका गृहमन्त्री गुरुङले पीडितहरूले राखेका  ६ बुँदे मागका बारेमा पहिलो चरणको वार्ता गर्नुभएको थियो ।

अब हुने दोस्रो चरणको वार्ताका लागि सरकार र आन्दोलनरत पक्ष दुवै आन्तरिक गृहकार्यमा जुटेको बताइएको छ ।

मिटरब्याज विरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौँ हिँडेकाहरूलाई भेट्न गृहमन्त्री सुधन गुरुङ आज बिहान बाराको निजगढ पुग्नु भएको थियो ।

बाराको निजगढमा मङ्गलबार गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र बुझाउँदै जनकपुरबाट काठमाडौँ जान लागेका मिटरब्याज पीडित । तस्बिरः दिवाकर भण्डारी/रासस

निजगढस्थित उद्योग वाणिज्य सङ्घको हलमा गृहमन्त्रीसँग आफूहरूले राखेको ६ बुँदे मागका बारेमा पहिलो चरणको वार्ता सम्पन्न भएको मिटरब्याज पीडित सङ्घर्ष समितिका नेता मनोज पासवानले जानकारी दिनुभयो । 

छलफलका क्रममा गृहमन्त्री गुरुङलाई मिटरब्याज पीडितहरूले आफूहरूले भोग्दै आएका समस्या, न्यायको माग तथा सरकारसँग रहेका अपेक्षाबारे जानकारी गराउँदै ज्ञापनपत्र समेत बुझाएका थिए । 

गृहमन्त्री गुरुङले ज्ञापनपत्र बुझ्दै पीडितहरूको माग समस्या र गुनासो सुन्नको लागी नै आफु निजगढ आएको बताउनुभयो ।

गृहमन्त्रीसँग भएको प्रत्यक्ष भेटघाट  वार्ता र ज्ञापनपत्र बुझाउने कार्यलाई पीडितहरूले आफ्ना माग सम्बोधन हुने अपेक्षासहित महत्त्वपूर्ण कदमका रूपमा लिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button