पोखरा–दुबई सिधा उडानको तयारीले पर्यटन व्यवसायी उत्साहित
कास्की। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी असोज ७ गते अर्थात् सेप्टेम्बर २३ देखि दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने तयारीले पोखराको पर्यटन तथा व्यावसायिक क्षेत्र उत्साहित बनेको छ ।

सञ्चालनमा आएको झण्डै तीन वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पहिलो पटक खाडी मुलुकसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापना गर्ने चरणमा पुगेको हो ।
संयुक्त अरब इमिरेट्सको कम लागतको वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा–दुबई नियमित उडानको तयारी तीव्र बनाएको छ । कम्पनीले सन् २०२७ मार्चसम्मका लागि टिकट बुकिङसमेत खुला गरिसकेको छ ।
उडानलाई दिगो र सफल बनाउन फ्लाई दुबईको उच्चस्तरीय टोली पोखरा आएर गण्डकी प्रदेश सरकार, स्थानीय तह तथा पर्यटन क्षेत्रका सरोकारवालासँग छलफलमा जुटेको छ । अन्तर्राष्ट्रिय उडानलाई नियमित र प्रभावकारी बनाउन सरकारी तथा निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन् ।
पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनु पर्यटन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले उडानको निरन्तरताका लागि सबै पक्षले साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।
फ्लाई दुबईको टोलीले गण्डकी प्रदेशका प्रतिनिधिसँग भेटघाट गरी आवश्यक सहकार्य, यात्रु व्यवस्थापन तथा उडान सफल बनाउन सकिने सम्भावनाका विषयमा समेत छलफल गरेको छ ।
अन्तर्राष्ट्रिय उडानले पर्यटक आगमन बढाउनुका साथै पोखरा र आसपासका क्षेत्रका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने अवसर सिर्जना गर्ने पर्यटन व्यवसायी गणेशबहादुर थापा बताउनु हुन्छ ।
अन्तर्राष्ट्रिय उडानलाई दिगो बनाउन विदेशी टुर अपरेटर र ट्राभल कम्पनीसँग प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य बताउनु हुन्छ ।
यसैबीच मध्यपूर्वकै अर्को चर्चित वायुसेवा कम्पनी एयर अरेबियाले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालनको सम्भावनाबारे अध्ययन सुरु गरेको जनाइएको छ । यदि एयर अरेबियाले समेत सेवा विस्तार गरे पोखरा पश्चिम नेपालकै प्रमुख अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्