तपाईँ सुन्दै हुनुहुन्छः

अभौतिक सांस्कृतिक सम्पदा संरक्षणमा स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण: मन्त्री पौडेल

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणमा सम्बन्धित समुदायको निर्णायक सहभागिता तथा स्थानीय तहको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ ।

सिंहदरबारस्थित प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा मन्त्री पौडेलले स्थान, समुदाय र परम्पराअनुसार संस्कृति परिवर्तनशील हुन सक्ने भएकाले अभौतिक सांस्कृतिक सम्पदाको अभिलेखीकरण गर्दा स्थानीय तहका सम्बन्धित समुदायको पौराणिक ज्ञान, सीप र कला आवश्यक आधार हुने बताउनुभयो ।

अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक २०८१ माथिको सैद्धान्तिक छलफलमा मन्त्री पौडेलले ध्वनि, दृश्य, श्रव्य–दृश्य सामग्री, तस्बिर तथा डिजिटल प्रविधि जस्ता विभिन्न माध्यमबाट अभौतिक सांस्कृतिक सम्पदाका विभिन्न विधाको अभिलेखीकरण गर्न आवश्यक रहेको बताउनुभयो ।

बैठकमा सांसदहरूले अभौतिक सांस्कृतिक सम्पदाहरूको अवैध चोरी तथा तस्करी नियन्त्रणका लागि थप नीतिगत सुधार आवश्यक रहेको प्रष्ट पार्नुहुँदै विदेशी संस्थाबाट पेटेन्ट हुने जोखिम न्यूनीकरणका लागि डिजिटल अभिलेखीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

सांसदहरूले राष्ट्रिय स्तरमा ओझेलमा परेका तर स्थानीय समुदायमा अझै प्रचलनमा रहेका जैविक ज्ञान, मौलिक औषधि, घरेलु उपचार तथा परम्परागत सीपजस्ता अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, अध्ययन र अनुसन्धानलाई प्रोत्साहन गर्न आवश्यक वित्तीय स्रोत सुनिश्चित गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गनुभयो ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश श्रेष्ठले सम्बन्धित समुदायबाट लिखित रूपमा प्राप्त विवरणका आधारमा पुर्खादेखि चलिआएका अभौतिक सांस्कृतिक सम्पदाको अभिलेखीकरण भइरहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button