तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेश पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा

विराटनगर । कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना  प्रदेशका रूपमा घोषणा गरिएको छ । 

कोशी प्रदेशका  १४ वटै जिल्ला, १३७ स्थानीय तह र १ हजार १५७ वडाले पूर्णखोप सुनिश्चितता घोषणा गरेपछि कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

कोशी प्रदेश  स्वास्थ्य मन्त्रालय, प्रदेश खोप समन्वय समितिको सचिवालय तथा  स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजनामा विराटनगरमा आज आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गर्नुभयो । 

प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले कोशी प्रदेशका १ सय ३७ वटै पालिका र प्रदेशका १४ वटै जिल्लामा पूर्णखोप खोप सुनिश्चितता भएसँगै प्रदेशलाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरिएको जानकारी दिनुभयो ।  

गत चैत ३ देखि असार १६ गते सम्ममा कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्ण खोप सुनिश्चितताको घोषणा गरिसकेका छन् ।

चालु आर्थिक २०८२–०८३ मा पाँचथर जिल्लाले प्रदेशमै पहिलो पटक पूर्ण खोप सुनिश्चितताको घोषणा गरेको थियो । असार १६ गते खोटाङले पूर्ण खोप सुनिश्चितताको घोषणा गरेको छ । 

नेपाल सरकारले क्षयरोग, रोटा, पोलियोमाइलाईटिस, निमोनिया, मेनिन्जाईटीस, भ्यागुते रोग, लहरे खोकी, हेपाटाइटिस बी, धनुष्टङ्कार, दादुरा, रुबेला, जापानिज इन्सेफलाइटिस र टाइफाइड) रोग विरुद्धका १४ प्रकारको खोप निःशुल्क दिँदै आएको छ ।  

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा ०–१५ महिनाका ७९ हजार ८२७ र १६ देखि ५९ महिनाका २ लाख ८ हजार २०१ ले पूर्ण खोप लगाएका छन् । 

घोषण सभा कार्यक्रममा मुख्यमन्त्री  कार्कीले प्रदेश सरकारले स्वास्थ्य सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउन प्राथमिकता दिएका कारण वडा स्तरबाट नै पूर्ण खोप सुनिश्चितता घोषणा गर्न प्रदेश सरकार सफल भएको बताउनुभयो । 

उहाँले पूर्ण खोप शुनिश्तिता कार्यमा महिला स्वास्थ्य स्वयंसेविकाको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै महिला स्वयंसेविकाको सेवा–सुविधा वृद्धि गर्न सकिने विषयमा प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउनुभयो । 

स्वास्थ्य सेवाको गुणस्तर सुधार, अस्पतालहरूको स्तरोन्नति तथा सेवाग्राहीले सहज रूपमा उपचार पाउने वातावरण निर्माण गर्ने गरि प्रदेश सरकारले काम गरिरहेको उहाँको भनाई थियो । 

उहाँले सीमित स्रोत–साधनका बाबजुद उपलब्ध क्षमताअनुसार गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्वास्थ्य क्षेत्रको विकास र विस्तारका लागी आफूले कुनै पनि किसिमको कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कोशी प्रदेश सरकारकै महत्वपूर्ण उपलब्धि भएको चर्चा गर्दै यसको निरन्तरता र प्रभावकारी कार्यान्वयनमा सबै पक्ष लाग्नुपर्ने बताउनुभयो । 

मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेले खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनका कारण कोशी प्रदेशका सबै जिल्ला, स्थानीय तह र वडाले पूर्णखोप सुनिश्चितता घोषणा गर्न सफल भएको बताउनुभयो ।

प्रदेश खोप समन्वय समितिका सचिव तथा प्रादेशिक खोप फोकल पर्सन सागर प्रसाईँले हाल सरकारले १४ प्रकारका सरुवा रोगविरुद्ध निःशुल्क खोप उपलब्ध गराउँदै आएकाले खोप लगाउनबाट कुनै पनि बालबालिका वञ्चित हुन नहुने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button