राप्तीमा डुबेर बेपत्ता दुईमध्ये एकको शव फेला, बालिकाको खोजी जारी
नेपालगञ्ज । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी कार्य जारी रहेको छ । सशस्त्र प्रहरी बलका अनुसार डुडुवा गाउँपालिका–५ निवासी गोविन्द सिजापतिकी ११ वर्षीया छोरी खुशी सिजापति र सोही स्थानका विकास रावतका ९ वर्षीय छोरा सुलभ रावत शनिबार साँझ करिब ५ बजे राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
प्रारम्भिक अनुसन्धान अनुसार पौडी खेल्ने क्रममा सुलभ डुब्न थालेपछि उनलाई बचाउने प्रयासमा गएकी खुशी पनि नदीको तीव्र बहावमा बगेर बेपत्ता भएकी हुन् । दुवै बालबालिका शनिबार साँझ करिब साढे ४ बजे घरबाट निस्किएका थिए । उनीहरू नदीमा डुबेको घटनाबारे एक भैँसी गोठालाले राति करिब ८ बजे परिवारलाई जानकारी दिएका थिए । त्यसपछि पीडित परिवार र स्थानीयवासीले राति करिब १० बजे सशस्त्र प्रहरी बलको अस्थायी मनसुन सुरक्षा बेस कुण्डा–फत्तेपुरलाई खबर गरेका थिए ।
सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी नायब निरीक्षक चित्रबहादुर पुनको कमाण्डमा ११ सदस्यीय विपद् व्यवस्थापन टोली मोटर बोटसहित घटनास्थल पुगेको थियो । टोलीले शनिबार रातिदेखि आइतबार बिहान १ बजेसम्म स्थानीयवासी, पीडित परिवार तथा नेपाल प्रहरीसँग समन्वय गरी व्यापक खोजी अभियान सञ्चालन गरे पनि दुवै बालबालिका फेला परेका थिएनन् ।
आइतबार बिहान ५ बजेदेखि पुनः सोही टोली मोटर बोटसहित खोजीमा परिचालन भएको थियो । खोजीका क्रममा ९ वर्षीय सुलभको शव बिहान ७:५० बजे डुबेको स्थानबाट करिब ५०० मिटर तल तथा सिधनियाघाटस्थित राप्ती नदी पुलबाट करिब १ किलोमिटर उत्तरतर्फ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
फेला परेको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ । सशस्त्र प्रहरीका अनुसार बेपत्ता ११ वर्षीया खुशीको खोजी कार्य भने आइतबार पनि निरन्तर जारी रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्