उदयपुरमा ६६० मिलिग्राम ब्राउन सुगरसहित एक युवा पक्राउ
उदयपुर। उदयपुरमा लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले जिल्लाको त्रियुगा नगरपालिका–६ स्थित लालपत्ता चेकपोस्टबाट एक युवकलाई ६६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार असार २६ गते दिउँसो करिब २ बजे प्रहरी चौकी लालपत्ताबाट खटिएको टोलीले लहानबाट गाईघाटतर्फ आउँदै गरेको मोटरसाइकललाई शङ्काको आधारमा रोकी जाँच गरेको थियो। चेकजाँचका क्रममा मोटरसाइकल चालक सिराहा जिल्लाको लहान नगरपालिका–२२ निवासी अन्दाजी २४ वर्षीय सन्दिप चौधरीले मोटरसाइकलमा लुकाई–छिपाई ल्याउँदै गरेको ६६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको पदार्थसहित मोटरसाइकल नियन्त्रणमा लिई चौधरीलाई पक्राउ गरिएको छ। बरामद पदार्थको परीक्षण तथा पक्राउ परेका व्यक्तिमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
उदयपुर प्रहरीले पछिल्लो समय पूर्व–पश्चिम राजमार्ग तथा जिल्लाका विभिन्न संवेदनशील क्षेत्रमा सवारी चेकजाँचलाई तीव्र बनाएको छ। त्यसक्रममा लागूऔषध ओसारपसारमा संलग्न व्यक्तिहरू एकपछि अर्को पक्राउ पर्दै आएका छन्। प्रहरीको सक्रिय अभियानका बाबजुद जिल्लामा ब्राउन सुगरसहितका लागूऔषधको कारोबार र सेवनका घटना पूर्ण रूपमा नियन्त्रणमा आउन नसक्नु चुनौतीका रूपमा देखिएको छ।
प्रहरीले लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट गर्दै यस्ता गतिविधिबारे सूचना भए तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।








प्रतिक्रिया राख्नुहोस्