विपद् व्यवस्थापन तयारीमा जुट्न मातहतका निकायलाई मुख्यमन्त्री शाहको निर्देशन

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन एवं पूर्व तयारीमा जुट्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ।
प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री शाहले बर्षायामको समय भएकाले बाढी, डुबान, पहिरो जस्ता विपदबारे उच्च सतर्कता अपनाउँदै विपद व्यवस्थापन कार्यका लागी तयारीमा रहन निर्देशन दिनुभयो ।
सम्भावित जोखिम क्षेत्रको पहिचान गरी जनतालाई समयमै सूचना प्रवाह जस्ता सावधानी अपनाउनु पर्नेमा जोड दिनुहुँदै उहाँले विपद् व्यवस्थापनका लागि सरकारी तथा निजी क्षेत्र, सरोकारवाला निकायबिच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो ।
यसैबिच आज धनगढीमा बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले दुई वटा कार्ययोजना अनुमोदन गरेको छ ।
मुख्यमन्त्री एवं प्रदेश विपद् व्यवस्थापन परिषद्का अध्यक्ष कमलबहादुर शाहको अध्यक्षतामा सम्पन्न परिषद् बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य प्रादेशिक कार्ययोजना, २०७७ (पाँचौँ संशोधन–२०८३) र बहुप्रकोप पूर्वसूचना रणनीतिक कार्ययोजना (२०२५–२०३०) २०८२ लाई अनुमोदन गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
उक्त बैठकमा मन्त्रीगण, विषयगत मन्त्रालयका सचिव, प्रदेश स्थित सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।






प्रतिक्रिया राख्नुहोस्