तपाईँ सुन्दै हुनुहुन्छः

दशकौँ पुरानो चलन: नरैनापुरमा सामानको मूल्य अझै भारुमा

बाँके। नेपालको भारतसँग सीमा जोडिएको बाँकेको नरैनापुर गाउँपालिकामा नेपाली रुपैयाँको प्रयोग बढ्दै गए पनि बजारमा वस्तु तथा सेवाको मूल्य निर्धारण भने अझै भारतीय रुपैयाँ (भारु)मै हुने गरेको छ। दशकौँदेखि कायम रहेको यो आर्थिक अभ्यासका कारण पहिलो पटक नरैनापुर पुग्ने सेवाग्राही र यात्रुहरू अन्योलमा पर्ने गरेका छन्।

नरैनापुर बजारमा खाजा खान, मोटरसाइकल मर्मत गर्न वा दैनिक उपभोगका सामग्री खरिद गर्दा व्यापारीले मूल्य भारुमा बताउने गर्छन्। नेपाली रुपैयाँ स्वीकार गरिए पनि त्यसलाई भारुमा रूपान्तरण गरेर मात्र रकम लिने चलन अझै कायम छ।

मोटरसाइकल मर्मत व्यवसायी मोहम्मद सरिफका अनुसार नेपाली रुपैयाँ चलनचल्तीमा रहे पनि मूल्य निर्धारण भारुमै हुन्छ। “नेपाली रुपैयाँ लिन्छौँ, तर हिसाब भारुमै हुन्छ। नेपाली रुपैयाँमा मूल्य भन्यो भने महँगो भयो भन्ने बुझाइ हुन्छ,” उनले भने।

खाजा पसल सञ्चालक राजेश श्रीवास्तवले पनि पुरानो अभ्यास अझै कायम रहेको बताए। “नेपाली रुपैयाँ लिन्छौँ, तर पहिले भारुमा हिसाब गर्छौँ। यहाँका अधिकांश ग्राहक त्यसैमा अभ्यस्त छन्,” उनले भने।

यही कारण नरैनापुर पुग्ने नयाँ व्यक्तिहरू प्रायः झुक्किने गरेका छन्। कामका सिलसिलामा नरैनापुर पुगेका नेपालगञ्जका अभिषेक डाँगीले खाजा खाइसकेपछि पसलेले भनेको रकम नेपाली रुपैयाँ हो भन्ने ठाने। पछि त्यो रकम भारतीय रुपैयाँमा रहेको थाहा पाएपछि उनी आश्चर्यचकित भए।

“नेपालको भूभागमा नेपाली रुपैयाँमै कारोबार हुन्छ भन्ने लागेको थियो। नेपाली रुपैयाँ चल्ने रहेछ, तर मूल्य भने भारुमै तोकिने रहेछ,” उनले भने।

नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रका अनुसार अहिलेको अवस्था विगतको तुलनामा धेरै सुधारिएको छ।

“पहिले त नेपाली रुपैयाँ नै चल्दैनथ्यो। अहिले नेपाली रुपैयाँ सहज रूपमा चल्न थालेको छ, तर मूल्य निर्धारण गर्ने पुरानो बानी अझै हटेको छैन,” उनले भने।

उनका अनुसार नेपालगञ्जसँग प्रत्यक्ष सडक सम्पर्क स्थापित भएपछि स्थानीयको भारतीय बजारमाथिको निर्भरता उल्लेख्य रूपमा घटेको छ। “पहिले दैनिक उपभोगका सामग्रीदेखि अन्य आवश्यक कामका लागि भारत जानुपर्थ्यो। अहिले नेपालगञ्जसँग सिधा सडक जोडिएपछि अवस्था फेरिएको छ,” उनले बताए।

नरैनापुरको यो आर्थिक व्यवहार केवल मुद्रा प्रयोगसँग मात्र सम्बन्धित छैन, यो राज्यसँगको ऐतिहासिक पहुँच र विकास यात्रासँग पनि जोडिएको विषय हो।

केही वर्षअघिसम्म नरैनापुर पुग्न नेपालकै बाटो प्रयोग गर्दा सातदेखि आठ घण्टा लाग्थ्यो। कतिपय अवस्थामा भारतीय भूभाग हुँदै आवतजावत गर्नु बाध्यता थियो। सडकको अभाव, सरकारी सेवाको कमजोर पहुँच र भारतीय बजारमाथिको अत्यधिक निर्भरताका कारण नेपाली रुपैयाँभन्दा भारतीय रुपैयाँ नै दैनिक कारोबारको प्रमुख माध्यम बनेको थियो।

पहिलो स्थानीय तह निर्वाचनपछि भने नरैनापुरको विकास यात्राले नयाँ मोड लिएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह बताउँछन्। उनका अनुसार निर्वाचनका बेला गाउँ–गाउँ पुग्ने सडकसमेत नहुँदा ट्र्याक्टर चढेर मत माग्नुपरेको थियो।

“त्यो बेला प्रचार गर्न निकै कठिन थियो। बाटो थिएन, विकासको अवस्था अत्यन्त कमजोर थियो। निर्वाचित भएपछि नरैनापुरलाई राज्यको मूलधारसँग जोड्ने विकासलाई नै पहिलो प्राथमिकता बनायौँ,” अध्यक्ष शाहले भने।

उनका अनुसार सडक, पुल, सरकारी सेवा र नेपालगञ्जसँगको प्रत्यक्ष सम्पर्क विस्तार भएपछि नरैनापुरवासीमा “हामी पनि नेपाली हौँ” भन्ने आत्मबोध र राज्यप्रतिको अपनत्व बलियो बन्दै गएको छ। नेपाली रुपैयाँको प्रयोग बढ्नु पनि त्यही परिवर्तनको संकेत भएको उनले बताए।

यद्यपि सीमावर्ती क्षेत्रको दशकौँ पुरानो आर्थिक अभ्यास एकैपटक परिवर्तन हुन सकेको छैन। स्थानीय बजारमा मूल्य निर्धारण अझै भारुमै हुने अवस्था राज्यका लागि पनि नीतिगत चासोको विषय बनेको छ।

सीमावर्ती क्षेत्रका नागरिकलाई राष्ट्रिय अर्थतन्त्रसँग थप प्रभावकारी रूपमा जोड्न, नेपाली रुपैयाँलाई मुख्य कारोबारको माध्यम बनाउन, वित्तीय साक्षरता अभिवृद्धि गर्न तथा बैंकिङ र डिजिटल भुक्तानी सेवाको पहुँच विस्तार गर्न राज्यले विशेष प्राथमिकता दिनुपर्ने सरोकारवालाको भनाइ छ। उनीहरूका अनुसार विकासका पूर्वाधारसँगै आर्थिक व्यवहार पनि राष्ट्रिय प्रणालीमा पूर्ण रूपमा एकीकृत हुन सके मात्र सीमावर्ती क्षेत्रको समावेशी विकास र राष्ट्रिय एकता अझ सुदृढ हुनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button