तपाईँ सुन्दै हुनुहुन्छः

विद्युतीय पूर्वाधारको विकास र प्रवर्द्धन सरकारको मुख्य प्राथमिकता: ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बजेटमार्फत ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा स्वीकार गरिएको बताउनुभएको छ।

सरकारले विद्युतीय पूर्वाधारको विकास र प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखेको उहाँको भनाइ छ।

राष्ट्रिय सभामा विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री श्रेष्ठले विद्युत् खपत बढाउन सरकारले विद्युत् उत्पादन भन्दा प्रसारण र वितरण प्रणालीको सुदृढीकरणमा जोड दिएको बताउनुभयो ।

उहाँले उत्पादित विद्युत् खेर जान नदिन दिगो आपूर्ति सुनिश्चित गर्न लागि परेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले सीमित स्रोत र विगतका दायित्व फछ्र्यौट गर्नुपर्ने जिम्मेवारीका बीचमा जनअपेक्षा अनुसारको स्रोत परिचालनमा सन्तुलन गर्ने कार्य चुनौतीपूर्ण रहेको पनि बताउनुभयो ।

उहाँले आन्तरिक विद्युत् खपत उल्लेख्य रूपमा बढाउने तथा वर्षायाममा बचत हुने विद्युतलाई अन्तरदेशीय प्रसारण लाइनमार्फत क्षेत्रीय बजारमा निर्यात गर्ने नीति लिएको स्पष्ट पार्नुभयो ।

“आगामी आर्थिक वर्षभित्रै १३२ केभी क्षमताका नौ वटा, २२० केभीका दुई वटा र नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजना एउटा गरी कूल १२ वटा विद्युत् प्रसारणको लाइनहरूको निर्माण सम्पन्न गर्ने लक्ष्यसहित मन्त्रालयले कार्ययोजना तयार गरी अघि बढेको मन्त्री श्रेष्ठले बताउनुभयो । यसपटक नेपालको ऊर्जा क्षेत्रका निम्ति पक्कै पनि ‘गेम चेन्जर’ हुनसक्छ भन्ने हामीले विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।

मन्त्री श्रेष्ठले सङ्घको कार्यक्षेत्रमा रहेको क्लस्टरमा आधारित भूमिगत जल सिँचाइ प्रणालीको विकास गर्न मन्त्रालयको पहल जारी रहेको बताउनुभयो 

प्रतिक्रिया राख्नुहोस्

Back to top button