तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने
दमौली (तनहुँ), २३ असारः नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको छ । भानुभक्त जन्मस्थल विकास समितिले भानुजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी जयन्ती मनाउने तयारी गरेको हो ।
भानु नगरपालिकाका प्रमुख एवं भानु जन्मस्थल विकास समितिका अध्यक्ष आनन्दराज त्रिपाठीको अध्यक्षतामा सोमबार यहाँ सम्पन्न बैठकले यही असार २७, २८ र २९ गते तीन दिनसम्म विविध कार्यक्रम सञ्चालन गरी २१३औँ भानु जयन्ती मनाउने निर्णय गरेको हो ।
समितिका कार्यकारी सचिव कृपाहरी लौडारीका अनुसार असार २७ गते भानुभक्तसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न मठमन्दिरमा पूजाअर्चना गरिनेछ । असार २८ गते भानुभक्तीय रामायण वाचन÷पाठ प्रतियोगिता आयोजना गरिनेछ भने साँझ साहित्यकार, कवि तथा स्रष्टाहरूको सहभागितामा विशेष कवि गोष्ठी हुनेछ ।
असार २९ गते बिहान भानुभक्तको शालिकमा माल्यार्पणपछि झाँकीसहितको प्रभातफेरी निकाल्ने कार्यक्रम तय भएको लौडारीले जानकारी दिनुभयो । त्यसपछि कविता वाचन, भानुभक्त आचार्यको जीवन, व्यक्तित्व र कृतित्वमाथि विशेष छलफल तथा भानु जन्मस्थलको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारका विषयमा संवाद कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।
बैठकमा भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामे, प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठलगायतले भानु जन्मस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
आदिकवि भानुभक्त आचार्यले नेपाली भाषामा रामायण अनुवाद गरेर साहित्यलाई जनताको पहुँचमा पुर्याएका कारण उहाँ नेपाली भाषा र साहित्यका अमर विभूतिका रूपमा चिनिनुहुन्छ । उहाँका कृतिले नेपाली भाषाको विकासमा पुर्याएको योगदान आज पनि उत्तिकै सान्दर्भिक मानिन्छन् ।
विसं १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादक पनि हुनुहुन्छ ।
मोतिराम भट्टले उहाँलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिनुभएको थियो । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेख्नुभएको छ भने उहाँका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तक प्रकाशित गरेपछि उहाँ नेपाली साहित्यमा चिनिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्