तपाईँ सुन्दै हुनुहुन्छः

संघीयता खारेज गरे मुलुक फेरि द्वन्द्वमा फस्न सक्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारहरु हटाइए मुलुक पुनः द्वन्द्वमा फस्न सक्ने चेतावनी दिनुभएको छ । 

प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशद्वारा ‘स्वच्छ प्रेस, समुन्नत गण्डकी प्रदेश’ भन्ने नारासहित शनिबार पोखरामा आयोजना भएको गण्डकी मिडिया समिट–२०८३ को उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले देशको आवश्यकताको आधारमा स्थापना भएको प्रदेश सरकार खारेज भए देश पुनः द्वन्द्वमा फस्न सक्ने चेतावनी दिनुभयो ।

संघीय शासन व्यवस्था खारेज गर्ने विषयमा स्पष्ट धारणा आवश्यक रहेको बताउँदै उहाँले संघीयताको पक्ष वा विपक्षमा राजनीतिक दलहरूले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले संघीयता राख्ने वा खारेज गर्ने विषयमा विभिन्न राजनीतिक दलबाट फरक–फरक धारणा आइरहेको उल्लेख गर्दै पत्रकारहरूलाई तथ्यमा आधारित खोजमूलक पत्रकारितामार्फत जनतालाई वास्तविक अवस्था बुझाउन आग्रह गर्नुभयो ।

विगत ३५ वर्षमा देशमा केही पनि प्रगति नभएको भन्ने भाष्य गलत रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले शिक्षा, स्वास्थ्य, सूचना प्रविधि लगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि भएको दाबी गर्नुभयो । मुख्यमन्त्री पाण्डेले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार भएको उल्लेख गर्दै सत्य बोल्ने र लेख्ने अधिकार कसैले रोक्न नसक्ने स्पष्ट पार्नुभयो । 

यसैबीच, प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको आयोजनामा सम्पन्न मिडिया समिटमा मिडियाको अर्थतन्त्र, पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) लगायत समसामयिक विषयमा विज्ञहरूबीच छलफल भएको गण्डकी प्रेस रजिष्टार विमला भण्डारीले बताउनुभयो ।

सोही अवसरमा गण्डकी प्रदेशका अग्रज पत्रकार स्वर्गीय केशवराज पराजुली, तिलकमान गुभाजू, प्रेमचन्द्र रौनियार, विश्वबन्धु भण्डारी र सरस्वती शर्मालार्ई जनही ५० हजार रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिएको छ । सम्मानित पत्रकारहरूको योगदान समेटिएको ‘हाम्रो समयको पत्रकारिता’ पुस्तकको समेत विमोचन गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका पत्रकार, सञ्चार उद्यमी, सञ्चारसम्बद्ध संघ–संस्थाका प्रतिनिधि तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button