कम्युनिस्ट पार्टीहरूबिच सहकार्य आवश्यक : संयोजक प्रचण्ड
पोखरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टीहरूबिच तत्काल एकता गर्नुभन्दा पहिले सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

नेकपा गण्डकी प्रदेश समितिले बुधबार पोखरामा आयोजना गरेको प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले सहकार्यका क्रममा विचार, नीति र कार्यशैलीमा समानता देखिएपछि मात्रै न्यूनतम आधारमा पार्टी एकीकरण हुने बताउनुभयो । विगतमा एमाले र नेपाली काँग्रेससँग समेत सहकार्य गरिएको स्मरण गराउँदै राष्ट्रिय आवश्यकता अनुसार राजनीतिक सहकार्य हुन सक्ने उहाँको भनाई थियो ।
संयोजक प्रचण्डले अहिले देशले गम्भीर चुनौतीको सामना गरिरहेको दाबी गर्दै सुकुम्बासी, विद्यार्थी, ट्रेड युनियन, सीमा र मधेसका मुद्दामा जनताको भावना विपरीत काम भइरहेको बताउनुभयो । “जनताको वर्गीय अधिकार र राष्ट्रिय स्वाभिमानमाथि प्रहार भइरहेको छ । अब फेरि एकपटक क्रमभङ्ग आवश्यक छ,“ उहाँले भन्नुभयो ।
कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलन छाडेर अन्यत्र गएका नेताहरूको राजनीतिक अवस्था “यता न उता“ भएको टिप्पणी गर्नुभयो । कम्युनिस्ट शक्तिहरूबीच वैचारिक स्पष्टता, सङ्गठनात्मक एकता र जनतासँगको सम्बन्धलाई बलियो बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई थियो ।
उक्त कार्यक्रममा प्रदेशका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको नेकपाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्