शिक्षा समिति बैठक: विधि विज्ञान प्रयोगशाला विधेयकमाथि दफावार छलफल सुरु
'डिजिटल अपराधको परीक्षण र ल्याब सुधार गर्न सांसदहरूको सुझाव'
काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक २०८१ माथि दफावार छलफल सुरु भएको छ ।

समितिको आज संघीय संसद सचिवालय सिंहदरबारमा बसेको बैठकमा विधेयकको प्रस्तावना र केही दफाहरूमाथि विस्तृत छलफल भएको हो ।
छलफलमा सांसदहरुले गम्भीर अपराधको न्याय निरुपणका लागि विश्वसनीय परीक्षण, अपराधको वर्गीकरण र प्रभावकारी अध्ययन अनुसन्धान गर्न छुट्टाछुट्टै व्यवस्थालाई प्रस्तावनामै समेट्न सुझाव दिनुभयो ।
पछिल्लो समय प्रविधिमा आधारित अपराध बढ्दै गएकाले जैविक र भौतिकसँगै डिजिटल अपराधको परीक्षण एवम् अनुसन्धानलाई पनि थप गर्न सांसदहरुले प्रस्ताव गर्नुभयो ।

छलफलमा सांसदहरुले नमुना सङ्कलन गरेपछि परीक्षणका लागि लामो समय कुर्नुपर्ने अहिलेको बाध्यतालाई अन्त्य गर्ने गरी जनशक्ति र ल्याबहरूको व्यवस्था कानुनमै तोक्नुपर्ने सुझाब दिनुभयो ।
प्रयोगशालामा काम गर्ने जनशक्तिलाई नेपालमा पढ्ने व्यवस्था नभएकाले शैक्षिक योग्यता तोक्ने विषयमा भने समितिले जनशक्तिको तथ्याङ्क आएपछि निर्णय गर्ने सभापति डा. ओजस्वी शेरचनले जानकारी दिनुभयो ।
बैठकमा सभापति शेरचनले हाल नेपालमा यससँग सम्बन्धित कति जनशक्ति छन् र अत्याधुनिक ल्याब सञ्चालन गर्न कति जनशक्ति र पूर्वाधार आवश्यक छ भनेर तथ्याङ्क उपलब्ध गराउन प्रयोगशालाका पदाधिकारीलाई निर्देशन पनि दिनुभयो ।
प्रयोगशाला सञ्चालनका लागि बन्ने कानून नितान्त प्राविधिक भएकाले दफावार छलफलमा सम्बन्धित मन्त्रालयसँगै विषय विज्ञको आवश्यकता पर्ने हुँदा समितिले प्रयोगशाला विज्ञ गोपाल चौधरीलाई दफावार छलफलमा विज्ञका रुपमा आमन्त्रित गर्ने निर्णय पनि गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्