तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार मन्त्रीद्वारा गुणस्तरीय सेवा दिन नेपाल टेलिकमलाई निर्देशन

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई सेवाग्राहीमैत्री, छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले आज सुन्धारास्थित नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालयअन्तर्गत रहेको बिजनेस सपोर्ट सिस्टम (बीएसएस) विभाग तथा दूरसञ्चार कार्यालयको निरीक्षणका क्रममा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र डिजिटल प्रणालीमा आधारित बनाउन निर्देशन दिनुभयो । 

निरीक्षणका क्रममा नेपाल टेलिकमका प्रबन्धक शालिकराम सुवेदीले सूचना प्रविधि निर्देशनालय मार्फत सम्पादन भइरहेका कार्य तथा टेलिकमको बिलिङ प्रणालीका बारेमा जानकारी गराउनुभएको थियो । 

सञ्चारमन्त्री तिमिल्सिनाले बिलिङ प्रणाली, ग्राहक व्यवस्थापन तथा सूचना प्रविधिमा आधारित सेवा प्रवाहका विषयमा जानकारी लिनुभएको थियो ।

त्यसपछि उहाँले सुन्धारास्थित दूरसञ्चार कार्यालयको निरीक्षण गरी नयाँ सिम कार्ड लिने, बिल भुक्तानी, ई–सिम सेवा, टेलिफोन तथा इन्टरनेट सेवासम्बन्धी अनुभवका बारेमा सेवाग्राहीसँग जानकारी लिनुभएको थियो । सेवाग्राहीहरूले कार्यालयमा सेवा लिन लामो समय लाइनमा बस्न नपरेको तथा अपेक्षाकृत छिटो सेवा प्राप्त भएको प्रतिक्रिया दिएका थिए ।

निरीक्षणपछि सञ्चारमन्त्री डा तिमिल्सिनाले सेवाग्राहीलाई थप सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउन नेपाल टेलिकमलाई निर्देशन दिनुभयो । उहाँले ग्राहकका व्यक्तिगत विवरण सुरक्षित रूपमा डाटाबेसमा राख्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा एकपटक विवरण अद्यावधिक गरिसकेपछि पुनः सेवा लिन जाँदा बारम्बार उही कागजात पेश गर्नुपर्ने अवस्थाको तत्काल अन्त्य गर्ने अवस्थाको अन्त्य गर्न निर्देशन दिनुभयो । 

सुन्धारा दूरसञ्चार कार्यालयका प्रमुख निर्मलराज चटौतले सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्यअनुसार नयाँ सिम वितरण, केवाईसी अद्यावधिक, गुनासो दर्ता, गुनासोको अवस्थाबारे ट्र्याकिङ, शुल्क भुक्तानी लगायत सेवा अनलाइनमार्फत उपलब्ध गराउने प्रणाली विकास गरिएको जानकारी दिनुभयो ।

सिम लिनका लागि अनलाइन आवेदन प्रणाली कार्यान्वयनमा ल्याइएको र ग्राहकले अनलाइनमार्फत आवेदन दिएपछि आफूलाई पायक पर्ने सेवा केन्द्रबाट सिम प्राप्त गर्न सक्ने व्यवस्था कार्यान्वयन गरिएको र इ सिमका लागि भने कार्यालय धाउन नपर्ने र अनलाइनबाटै सेवा लिन सकिने उहाँले बताउनुभयो । 

उहाँले सेवाग्राहीलाई एउटै स्थानबाट सबै सेवा उपलब्ध गराउने उद्देश्यले ‘फ्रन्ट हेल्प डेस्क’ स्थापना गरी ‘वान स्टप सर्भिस’ सञ्चालनमा ल्याइएको पनि जानकारी दिनुभयो । 

कार्यालयको निरीक्षणपछि सञ्चारमन्त्री डा तिमिल्सिनाले ग्राहकका लागि आधुनिक सेवा विस्तारसँगै सेवाको गुणस्तर, ग्राहक सन्तुष्टि र व्यक्तिगत विवरणको सुरक्षा सुनिश्चित गर्न नेपाल टेलिकमले विशेष ध्यान दिनुपर्नेमा जोड दिन निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button