बैतडीमा डिजिटल ठगी बढ्दो: एकै महिनामा ११ उजुरी
बैतडी। बैतडीमा प्रविधिको दुरुपयोग गरी सर्वसाधारणलाई ठगी गर्ने क्रम डरलाग्दो गरी बढेको छ। गत जेठ महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय बैतडीमा मोबाइल बैंकिङ र सामाजिक सञ्जाल ह्याक गरी रकम ठगी भएको भन्दै ११ वटा उजुरी दर्ता भएका छन्। यस अवधिमा सर्वसाधारणको कुल ८ लाख रुपैयाँभन्दा बढी रकम ठगी भएको प्रहरीले जनाएको छ।
‘अलर्ट म्यासेज’ को पासो: बचतसँगै पारिवारिक सुख पनि गुम्यो
गत जेठ २८ गते बैतडीको पुर्चौडी नगरपालिका–५ की कमला बोहराको फेसबुक म्यासेन्जरमा एउटा ‘अलर्ट म्यासेज’ आयो। उक्त सन्देशमा उनको मोबाइल बैंकिङ खाता जोखिममा रहेकाले तुरुन्त पासवर्ड परिवर्तन गर्न भनिएको थियो। खाता सुरक्षित राख्ने आशमा बोहराले सन्देशमा दिइएको निर्देशन पछ्याउँदै पासवर्ड परिवर्तन गरिन्।
तर, पासवर्ड परिवर्तन गरेको केही क्षणमै उनको मोबाइलमा लगातार सन्देशहरू आए। उनको नबिल बैंकको खाताबाट ३ लाख रुपैयाँ झिकिसकिएको थियो भने ‘फोन लोन’ मार्फत थप ५० हजार रुपैयाँ ऋण समेत निकालिएको थियो। विदेशमा रहेका श्रीमान्ले वर्षौंदेखि दुःख गरेर पठाएको रकम क्षणभरमै रित्तिएपछि बोहरा छाँगाबाट खसेझैँ भइन्।
बैंक पुग्दा रकम अर्कै बैंकको खातामा स्थानान्तरण भइसकेको थाहा पाएपछि उनी प्रहरीको शरणमा पुगिन्। तर, यो ठगीले उनको आर्थिक अवस्था मात्र बिगारेन, पारिवारिक सम्बन्धमा समेत दरार ल्याएको छ।
‘मैले स्क्याम भएको कुरा बताउँदा उहाँ (श्रीमान्) ले विश्वास गर्नुभएन,’ बोहराले रुँदै प्रहरीसमक्ष भनिन्, “कसैलाई पैसा दिएर मलाई झुट बोलिरहेकी छौ भन्दै शंका गर्नुहुन्छ। पैसा फिर्ता ल्याउन दबाब दिइरहनुभएको छ।” श्रीमान्को अविश्वास र आर्थिक तनावका कारण बोहरा अहिले माइतीघरमा बस्न बाध्य छिन्।
सवारीचालक बिष्टको पनि ३ लाख गुम्न बाध्य
यस्तै नियति पाटन नगरपालिका–८ का सवारीचालक सुरेश बिष्टले पनि भोगेका छन्। जेठ १४ गते राति उनको म्यासेन्जरमा पनि ग्लोबल आइएमई बैंकको मोबाइल एपको पासवर्ड परिवर्तन गर्न भन्दै एउटा सन्देश आयो। बिष्टले पासवर्ड परिवर्तन गर्नासाथ उनको खाताबाट एक/एक लाख गरी तीन पटकमा ३ लाख रुपैयाँ गायब भयो।
उनले तत्कालै बैंकका स्थानीय कर्मचारीलाई फोन गरेर खाता रोक्का गराए। मोबाइल बैंकिङबाट एक दिनमा ३ लाखभन्दा बढी झिक्न नमिल्ने सीमा (लिमिट) भएका कारण उनको खातामा रहेको थप रकम भने जोगियो।
भोलिपल्ट बुझ्दा उनको रकम सानिमा बैंकको खातामा पुगिसकेको देखियो। तर, बैंकको झन्झटिलो प्रक्रियाका कारण कुन व्यक्तिको खातामा पैसा गयो भन्ने विवरण उनले तत्काल पाउन सकेनन्। बिष्टले दुखेसो पोखे, “स्थानीय शाखामा बुझ्दा कसको खातामा पैसा गयो भन्ने खुलाउन केन्द्रीय कार्यालयमै निवेदन दिनुपर्छ भनियो। समयमै विवरण पाएको भए अनुसन्धान गर्न सजिलो हुने थियो।”
कसरी हुँदैछ ठगी? यसो भन्छ प्रहरी
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक भुवन तिमिल्सैनाका अनुसार जिल्लामा अनलाइन सामान अर्डर, बेटिङ एप, फिसिङ लिङ्क र बैंक खाता अद्यावधिक (केवाईसी) गर्ने बहानामा ठगीका घटना बढेका हुन्।
ठगहरूले बैंक वा वित्तीय संस्थाको आधिकारिक नाम र लोगो प्रयोग गरेर ‘खाता बन्द हुन लागेको’वा ‘सुरक्षा जोखिम रहेको’भन्दै भ्रम फैलाउने गरेका छन्। प्रयोगकर्तालाई झुक्याएर ओटिपी (OTP), पासवर्ड वा गोप्य लिङ्कहरू क्लिक गर्न लगाई बैंक खाताको नियन्त्रण लिने गरिएको प्रहरी निरीक्षक तिमिल्सैनाले बताउनुभयाे।
शिक्षित र प्रतिष्ठित व्यक्ति नै बढी सिकार
बैंकिङ स्क्याम र अनलाइन ठगीको सिकार सर्वसाधारण र अशिक्षित मात्र नभई समाजका पढेलेखेका व्यक्तिहरू नै बढी हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।
इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक इन्द्रदेव भट्ट भन्नुहुन्छ, “स्वास्थ्यकर्मी, शिक्षक र समाजका प्रतिष्ठित व्यक्तिहरू नै ठगीमा परेको भन्दै निवेदन दिन आइरहेका छन्। विभिन्न उपहार वा चिठ्ठा पर्ने र थप पैसा आउने प्रलोभनमा परेर नबुझी लिङ्क खोल्दा उनीहरू स्क्याममा परेको देखिन्छ।”
प्रहरीले अपरिचित नम्बर वा सामाजिक सञ्जालबाट आउने शंकास्पद लिङ्कहरू नखोल्न, बैंकले कहिल्यै पनि फोन वा म्यासेजमा ओटिपी र पासवर्ड नमाग्ने हुनाले आफ्ना गोप्य विवरण कसैलाई सेयर नगर्न सर्वसाधारणमा अपिल गरेको छ।






प्रतिक्रिया राख्नुहोस्