तपाईँ सुन्दै हुनुहुन्छः

ब्रिनोजमा ११ महिनामै ३६ हजार भन्दा बढी बिरामीको कान उपचार

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाबाट चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३६ हजार भन्दा बढी बिरामीले सेवा लिएका छन् । समुदायस्तरबाट सञ्चालन भइरहेको यो संस्था नेपालकै कान रोगको उपचारमा विशेषज्ञता हासिल गरेको एक मात्र सामुदायिक अस्पतालका रुपमा परिचित छ । अस्पतालका प्रबन्ध निर्देशक चेतनारायण चौधरीका अनुसार आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि जेठ मसान्तसम्म ३६ हजार ४३ जना बिरामीले ओपिडी सेवा लिएका छन् ।

तीमध्ये २३ हजार २१९ जना महिला र १२ हजार ८२४ जना पुरुष रहेका छन् । यसबाट पुरुषको तुलनामा महिलाको सेवा उपयोग उल्लेख्य रुपमा बढी रहेको देखिएको छ । सोही अवधिमा अस्पतालले ६७० वटा शल्यक्रिया सम्पन्न गरेको छ । तीमध्ये ४०१ जनाको टिम्पानोप्लास्टी (कानको जाली फेर्ने शल्यक्रिया), २१७ जनाको एमआरएम (कानको हड्डी खाने रोगको शल्यक्रिया) तथा ५५ जनाको माइनर शल्यक्रिया गरिएको चौधरीले जानकारी दिनुभयो । ब्रिनोजमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका बिरामीसँगै सीमावर्ती भारतबाट समेत उपचारका लागि आउने गरेका छन् ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म बाँकेबाट २२ हजार २१३, बर्दियाबाट ३ हजार २२, सुर्खेतबाट १ हजार १०२, दाङबाट ८६३, कैलालीबाट ८५४, जाजरकोटबाट ४५०, सल्यानबाट ३९४, दैलेखबाट २८७, रुकुमबाट २६९, जुम्लाबाट ३८, डोल्पाबाट ३६ र हुम्लाबाट २७ जनाले सेवा लिएका छन् । त्यस्तै ६ हजार ५७४ जना भारतीय नागरिकले पनि अस्पतालबाट उपचार सेवा लिएका छन् भने अन्य जिल्लाका १९७ जना बिरामीले सेवा उपयोग गरेका छन् । गत आर्थिक वर्ष २०८१/०८२ मा अस्पतालबाट ३५ हजार ५३७ जनाले ओपिडी सेवा लिएका थिए भने ७८४ वटा शल्यक्रिया गरिएको थियो । यस वर्ष ओपिडी सेवा लिनेको संख्या बढेको छ ।

अस्पतालमा हाल दुई जना ईएनटी (नाक, कान, घाँटी) विशेषज्ञ शल्य चिकित्सकबाट दैनिक ओपिडी तथा शल्यक्रिया सेवा सञ्चालन भइरहेको छ । आकस्मिक सेवाका लागि ‘अनकल’ चिकित्सकको व्यवस्था समेत गरिएको चौधरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button