निको कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कोशीलाई

जनकपुरधाम । निको कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८३ को उपाधि कोशी प्रदेशका महिला क्रिकेट टिमले जितेको छ ।
मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा आज पर्सा जिल्लाको वीरगञ्जमा सम्पन्न भएको फाइनल खेलमा नेपाल एपिएफ क्लबलाई ११ रनले स्तब्ध पार्दै कोशीले जीत हासिल गरेको हो ।
प्रायः अधिकांश खेल जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा भएपनि १ सेमिफाइनल तथा फाइनल खेल पर्साको वीरगञ्जमा सम्पन्न भएको थियो ।
आजको फाइनल खेलमा पहिला व्याटिङ्ग गर्दै कोशी प्रदेशले ४ विकेटको क्षतिमा ९८ रनको मध्यम स्कोर बनाएका थिए । ९९ रनको लक्ष्य सहित खेल मैदानमा आएको नेपाल एपिएफ क्लब महिला क्रिकेट टिमले १९.५ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र बनाउन सकेर ११ रनले पराजित भएको छ ।
पहिला व्याटिङ्ग गरेका कोशी प्रदेशका महिला क्रिकेट टिमका तर्फबाट ५१ बल खेल्दै काजल श्रेष्ठले ३८ रन, प्रीसा राना मगरले १६, रुवीना क्षेत्रीले १२ र लखिता राजवंशीले १० रनको योगदान दिएका थिए । एपिएफ क्लबका तर्फबाट सुमन विष्ट, सवनम राई, कविता जोशी र सीताराना मगरले समान १–१ विकेट लिए ।
९९ सय रनको लक्ष्य सहित खेल मैदानमा आएका नेपाल एपिएफ क्लब महिला क्रिकेट टिमका खेलाडीले कोशी प्रदेशको कसिलो बलिङका कारणले कुनै पनि व्याट्स म्यानले राम्रो अङ्कमा रन बनाउन सकेनन् । एपिएफका तर्फबाट कविता जोशी १४, रेवती धामी १२ रन जोडेपनि अन्य व्याट्स म्यानले दोहो अङ्कमा रन जोड्न नसकेर ११ रनले टिम पराजित भएको छ ।
कोशी प्रदेशका तर्फबाट रुवीना क्षेत्रीले ३, रिमा शर्मा, निरु राजवंशीले समान २–२ विकेट, टिका साह र अप्सारी वेगमले १–१ विकेट लिएका थिए । आजको खेलमा कोशीका काजल श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भएका थिए । निको कपमा ७ प्रदेश र १ विभागीय टिमका गरेर ८ वटा टिमको सहभागिता रहेको थिए ।








प्रतिक्रिया राख्नुहोस्