तपाईँ सुन्दै हुनुहुन्छः

बैंकले प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्नुपर्छ: अर्थमन्त्री वाग्ले

मकवानपुर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल बैंकले प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्नुपर्ने धारणा राख्नुभएको छ । आइतबार बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाल बैङ्क लिमिटेडको प्रादेशिक कार्यालय तथा सिटी अफिसको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै उहाँले नयाँ भवनबाट प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह होस भन्ने धारणा राख्नुभयो । 

अर्थमन्त्री वाग्लेले देशकै पुरानो बैङ्क नेपाल बैङ्कको प्रादेशिक शाखाबाट जनतामैत्री र प्रभावकारी सेवा प्रदान गर्न सुझाव दिनु हुँदै सरकार र आफ्नो व्यक्तिगत तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । एक फरक प्रसङ्गमा उहाँले हेटौँडाको सडक बिस्तारका विषयमा पनि आफूले समन्वय गर्ने बताउनुभयो । हेटौँडाको सडक विस्तार विषय अदालतमा विचाराधीन मुद्दा भएकाले धेरै बोल्न नमिल्ने बताउनु हुँदै सरकारको तर्फबाट आवश्यक निकास र सहजीकरणका लागि प्रयास गर्ने आश्वासन दिनुभयो । 

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले हेटौँडाको सडक बिस्तारको विषयले छिटो निकास पाउने कुरामा अर्थमन्त्री वाग्लेलाई ध्यानाकर्षण गराउनुभयो । यस्तै उहाँले सरकारी बैङ्कहरूले उत्पादनमुखी अर्थतन्त्रमा जोड दिँदै कृषि र साना व्यवसायीलाई प्राथमिकतामा राखेर विशेष आर्थिक कार्यक्रमहरू ल्याउनुपर्ने धारणा राख्नुभयो । उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष प्रमोद सिंह रानाभाटले हेटौँडाको सडकको अस्तव्यस्तका कारण व्यवसायीलाई समस्या परेको भन्दै यो अन्यौलतालाई छिटै निकास दिनुपर्ने भन्दै साना तथा ठुला व्यवसायका लागि बैङ्किङ क्षेत्रबाट सहज सेवा प्रवाह हुनुपर्ने तर्फ ध्यानाकर्षण गराउनुभयो । 

कार्यक्रममा नेपाल बैङ्क लिमिटेड बागमती प्रादेशिक कार्यालयका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले सरकारी नीति तथा अर्थतन्त्रको प्राथमिकतासँग तालमेल मिलाउँदै ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न बैङ्क सधैँ तत्पर रहेको बताउनुभयो । बैंकले पछिल्लो दुई दशकमा प्रविधिको क्षेत्रमा निकै फड्को मारेको भन्दै उहाँले सार्वजनिक खरिद ऐन र प्रक्रियागत झन्झटका कारण भने नयाँ ‘कोर बैङ्किङ सिस्टम’ जडान गर्न केही कठिनाइ भइरहेको बताउनुभयो । उहाँले हाल बैंकले सातै प्रदेशका ७१ जिल्लामा २३१ शाखा मार्फत २७ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको भन्दै बैंकसँग ४०० अर्ब निक्षेप तथा २६० अर्ब कर्जा लगानी र १४० अर्ब रुपैयाँ सरकारी डेभलपमेन्ट बन्ड र ट्रेजरी बिल्समा लगानी रहेको बताउनुभयो । करिब ३ हजार ७ सय कर्मचारी रहेको नेपाल बैंकले हाल नयाँ सरकारको १०० बुँदे कार्यक्रम र संघीय बजेटसँग तालमेल मिलाएर कार्य सम्पादन गरिरहेको उहाँले बताउनुभयो । 

नेपाल सरकारको ५१ प्रतिशत र कर्मचारी सञ्चय कोषको करिब ३ प्रतिशत सेयर स्वामित्व रहेको बैंकले आफूलाई ‘जनताको बैङ्क’ का रूपमा परिभाषित गर्दै सेवामा थप सुधार ल्याउन ग्राहकहरूलाई खुलेर सुझाव र गुनासो राख्न उहाँले आग्रह गर्नुभयो । हेटौडा उपमहानगरपालिका–४ मेनरोड स्थित कुल ४ करोड ७२ लाख लागतमा अन्डरग्राउन्ड सहित साढे ३ तल्लाको भवन एस एनपी छुमा गणेश जे भी कन्स्ट्रक्सन प्रालीले २०८० साल मंसुर ८ गते १८ महिना भित्र सम्पन्न गर्ने गरि निर्माण सम्झौता गरि निर्माण गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button