बफर स्टकमा रहेको युरिया तथा डीएपी मलको कोशी प्रदेशमा कोटा बाँडफाँट
विराटनगर । नेपाल सरकारले खरिद गरेको युरिया तथा डीएपी मल अझै केही हप्ता ढिलो गरी आइपुग्ने भएपछि कृषि सामग्री कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय विराटनगरले कोशी प्रदेशका १४ वटै जिल्लाका लागि युरिया तथा डीएपी मलको कोटा बाँडफाँट गरी बिक्री–वितरण सुरु गरेको छ।
तेस्रो मुलुकबाट खरिद गरिएको मल नेपाल आइपुग्न ढिलाइ हुने भएपछि किसानलाई राहत दिने उद्देश्यले कार्यालयको बफर स्टकमा रहेको युरिया तथा डीएपी मल प्रदेशका १३७ वटै स्थानीय तहका लागि कोटा निर्धारण गरी पठाइएको हो।
कार्यालय प्रमुख कमल पोखरेलका अनुसार धान रोपाइँको सिजन सुरु हुन लागेकाले बफर स्टकमा रहेको ४ हजार ६ सय ३१ मेट्रिक टन युरिया र ८ सय मेट्रिक टन डीएपी मल सम्बन्धित कार्यालयहरूमा पठाइसकिएको छ। कतिपय स्थानबाट बिक्री–वितरणसमेत सुरु भइसकेको उहाँले जानकारी दिनुभयो।
उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशको प्रदेश मल वितरण व्यवस्थापन समिति तथा संघीय समितिको निर्णयअनुसार बफर स्टकको मल बाँडफाँट गरी सम्बन्धित कार्यालयहरूमा पठाइएको हो।
प्रमुख पोखरेलका अनुसार भोजपुरको हतुवागढीबाट आइतबारदेखि नै मल बिक्री सुरु भइसकेको छ। अन्य स्थानमा कार्यालय खुलेपछि सोमबारदेखि बिक्री–वितरण सुरु हुनेछ। मल बिक्रीको जिम्मेवारी पाएका डिलर तथा सहकारीमार्फत किसानलाई डीएपी र युरिया मल उपलब्ध गराइनेछ।
स्थानीय तहलाई छुट्याइएको मल स्थानीय तहको सिफारिसका आधारमा जिल्लास्थित कृषि सामग्री कम्पनीका कार्यालयहरूले सम्बन्धित विक्रेतालाई उपलब्ध गराउने व्यवस्था गरिएको छ।
नेपाल सरकारले खरिद गरेको मल असार महिनाको अन्त्यसम्ममा विराटनगर आइपुग्ने कार्यालयले जनाएको छ। सरकारले खरिद गरेको कुल युरिया मलमध्ये २०.५ प्रतिशत र डीएपी मलमध्ये २०.९ प्रतिशत हिस्सा कोशी प्रदेशका लागि छुट्याइएको छ।
कार्यालय प्रमुख पोखरेलका अनुसार यसै महिनाको अन्त्यदेखि जी–टु–जी र नियमित टेन्डरमार्फत खरिद गरिएको मल निरन्तर आउने भएकाले त्यसपछि मलको अभाव नहुने अपेक्षा गरिएको छ।
सरकारले उपलब्ध गराएको कुल मलमध्ये आपत्कालीन अवस्थाका लागि १० प्रतिशत मल बफर स्टकका रूपमा राख्नुपर्ने व्यवस्था रहेको छ।








प्रतिक्रिया राख्नुहोस्