तपाईँ सुन्दै हुनुहुन्छः

पक्की सडकसँग जोडिँदै त्रिवेणीका गाउँ

बाजुरा। बाजुराको त्रिवेणी नगरपालिका पक्की सडक पूर्वाधारसँग जोडिँदै गएपछि स्थानीय विकासले नयाँ गति लिन थालेको छ ।

जिल्लाका नौ स्थानीय तहमध्ये पालिका केन्द्रमा कालोपत्रे सडक निर्माण गर्ने पहिलो स्थानीय तहका रूपमा त्रिवेणी नगरपालिका स्थापित भएको छ । नगरपालिकाको केन्द्र तोली क्षेत्रमा सडक कालोपत्रे गर्ने कार्य तीव्र गतिमा भइरहेको छ ।

सघन सहरी विकास कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको उक्त योजनाले त्रिवेणीका गाउँहरूलाई आधुनिक सडक सञ्जालसँग जोड्ने काम गरिरहेको छ । नगर प्रमुख कर्णबहादुर थापाका अनुसार करिब रु १२ करोड लागत अनुमान गरिएको योजनाको रु ९ करोडमा ठेक्का सम्झौता भई निर्माण कार्य अघि बढाइएको हो । मौरेदेखि छतारा हुँदै अछामको मेल्लेख गाउँपालिका सीमासम्म सडक कालोपत्रे गरिनेछ ।

सडक कालोपत्रे भएपछि स्थानीयवासीको दैनिक आवागमन सहज हुने, कृषि उत्पादन बजारसम्म पुर्‍याउन सजिलो हुने तथा व्यापार–व्यवसाय विस्तारमा टेवा पुग्ने विश्वास गरिएको छ । यसले शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत सेवामा नागरिकको पहुँचसमेत सहज बनाउने अपेक्षा गरिएको छ ।

नगर प्रमुख थापाले सडक पूर्वाधार विस्तारसँगै त्रिवेणीको समग्र विकासले नयाँ गति लिएको बताउनुभयो । यद्यपि, बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकालाई जोड्ने बुढीगंगा नदीमाथिको मोटरेबल पुल निर्माण सम्पन्न हुन नसक्दा स्थानीयले अझै सास्ती भोग्नुपरेको उहाँको भनाइ छ ।

सडक तथा अन्य पूर्वाधार विकासका कामले गति लिएसँगै त्रिवेणीका स्थानीयवासीमा विकासप्रति नयाँ आशा र उत्साह जागेको छ । पक्की सडकको पहुँच विस्तारले त्रिवेणीलाई समृद्धितर्फ उन्मुख गराउने स्थानीयको अपेक्षा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button