मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
धनकुटा । धनकुटामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
धनकुटा नगरपालिका वडा नं. ४ स्कुल डाँडा नजिकै धनकुटाबाट हिलेतर्फ जाँदै गरेको को १२ प ८०९८ नम्बरको मोटरसाइकल र हिलेबाट धनकुटा जिल्ला अस्पतालतर्फ आउँदै गरेको को २५ प १७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा को १२ प ८०९८ नम्बरको मोटरसाइकल चालक सुनसरीको झुम्का स्थायी घर भई विगत केही वर्षदेखि धनकुटामा बसोबास गर्दै फर्निचर तथा मिस्त्री व्यवसाय गर्दै आएका ५५ वर्षीय विशाल चौधरी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।
त्यसैगरी, अर्को मोटरसाइकल चालक धनकुटा नगरपालिका वडा नं. १ हिलेका २८ वर्षीय श्याम तामाङ घाइते भएका छन् । तामाङ धनकुटा जिल्ला अस्पतालको डायलिसिस वार्डमा कार्यरत कर्मचारी हुन् । तामाङलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्