तपाईँ सुन्दै हुनुहुन्छः

ओडारमा लुकाई राखेका ५ नाल भरुवा बन्दुक बरामद 

सल्यान I सल्यान कालीमाटी गाउँपालिका ५ मा रहेको एक ओडारमा लुकाई राखेको अवैध पाँच नाल बरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । 

कालीमाटी गाउँपालिका ५ जुमखोला स्थित हरियाली सामुदायिक वन भित्र रहेको एक ओडारबाट अवैध भरुवा बन्दुक  फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

जङ्गलको ओडारमा भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने सूचनाका आधारमा खोजतलास गर्दा ५ नाल बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको उहाँको भनाई छ । 

नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी साधन नियन्त्रण 
यस्तै प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने एक सवारी साधनलाई नियन्त्रणमा लिएको छ । 

बागचौर नगरपालिका १० मोखला स्थित शारदा  खोलामा बालुवा उत्खनन् गरि रहेको अवस्थामा रा १ क ७१९ नम्बरको जेसिवि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बालुवा उत्खनन् गर्ने जेसिवि चालक दार्मा गाउँपालिका ५ का २४ वर्षीय रवि खड्कालाई नियन्त्रणमा लिइएको सूचना अधिकारी देवराज भट्टराईले बताउनुभयो । नियन्त्रणमा लिइएको सवारी साधनलाई आवश्यक कारबाहीका  लागि बागचौर नगरपालिकामा पठाइएको उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button