तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा समिति बैठक: विधि विज्ञान प्रयोगशाला विधेयकमा विज्ञहरुको सुझाव माग

काठमाडौँ। प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक २०८१ माथि विज्ञहरुसँग सुझाव लिएको छ । 

समितिको आज बसेको बैठकमा विज्ञहरुले विवि विज्ञान प्रयोगशालालाई गुणस्तरीय र विश्वसनीय बनाउने गरी विधेयक अघि बढाइनुपर्नेमा जोड दिनुभयो । 

बैठकमा प्रयोगशाला विज्ञ ओम प्रकाश शर्माले विधि विज्ञान प्रयोगशालासम्बन्धी वार्षिक तालिमको आयोजना गर्न र प्रयोगशाला र सङ्कलित नमुनाहरूको सुरक्षाका सम्बन्धमा कडा कानूनी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । 

त्यस्तै अर्का विज्ञ गोपालकुमार चौधरीले हाल सङ्कलन गरिएका हजारौँ नमुना र आवश्यक जनशक्ति र प्रयोगशालाको अभावमा थन्किएर रहेको भन्दै प्रदेशहरूमा समेत परीक्षण गर्ने व्यवस्था अव बन्ने कानुनमा उल्लेख गरिनुपर्ने सुझाव दिनुभयो । 

त्यस्तै प्रयोगशाला विज्ञ निराजन थापा क्षेत्रीले  सङ्कलित नमुनाहरू जतिसक्दो चाँडो परीक्षण गर्न सक्यो त्यति सकारात्मक नतिजा आउने हुँदा विधेयकले प्रयोगशाला सञ्चालनका लागि दक्ष जनशक्ति र प्रयोगशालाहरूको संख्या बढाउन सुझाव दिनुभयो । 

बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सरकारले सबैभन्दा पहिला भएका विधि विज्ञान प्रयोगशालालाई सुदृढ बनाउन चाहेको बताउनुभयो । 

समिति सभापति डा. ओजस्वी शेरचनले विधि विज्ञान प्रयोगशाला विधेयक विज्ञहरुसँग थप छलफल गरेर मात्रै अघि बढाइने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button