तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै

काभ्रेपलाञ्चोक। वर्षाका कारण हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न काभ्रेपलाञ्चोकका विभिन्न नदी–तटीय क्षेत्रमा मौसम मापन केन्द्र तथा बाढी मापन केन्द्र व्यवस्थित गर्न थालिएको छ ।

सुनकोशी र रोशी नदी आसपासका विभिन्न क्षेत्रमा ती केन्द्रमा उपकरण व्यवस्थित गर्न थालिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार जिल्लास्थित तीन वटा बाढी मापन केन्द्र र एउटा स्थानमा मौसम मापन केन्द्र स्थापना गर्न लागिएको हो । यसका लागि सरोकारवाला निकाय तथा स्थानीय नागरिकसँग विभागले छलफलसमेत गरिसकेको छ ।

मौसम र बाढीबारे जानकारी गराउन जिल्लाको सात स्थानमा मौसम मापन उपकरण र तीन स्थानमा बाढी मापन उपकरण जडान गरिएको विभागका वरिष्ठ हाइड्रोलोजिष्ट विनोद पराजुलीले जानकारी दिनुभयो । उहाँका धुलिखेल, खोपासी, नाला, पाँचखाल, मण्डनदेउपुर, दोलालघाट र पचुवारघाटमा मौसम मापन उपकरण जडान गरिएको छ ।

सुनकोशी नदीअन्तर्गत दोलालघाट र पचुवारघाट तथा पनौती बजार नजिकै बाढी मापन उपकरण जडान गरिएको छ । रोशी गाउँपालिका–२ फलामेसाँघुमा मौसम मापन उपकरण तथा पनौती र नमोबुद्ध नगरपालिकाको सिमाना, रोशी खोला पुल र रोशी–सुनकोशीको सङ्मस्थल नेपालथोक नजिकको पुलमा बाढी मापन उपकरण थप्ने प्रक्रिया अघि बढाइएको पराजुलीले बताउनुभयो । उहाँका अनुसार पनौतीको गोरखनाथ मन्दिर छेउमा परीक्षणका लागि बाढीको जानकारी दिने बत्ती समेत जडान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button