विदेश जानुअघि कानुनी प्रक्रिया बुझ्न डुडुवामा सचेतना कार्यक्रम
बाँके। वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन बाँकेको डुडुवा गाउँपालिकाले समुदायस्तरमै पुगेर सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।
गाउँपालिकाको रोजगार सेवा केन्द्रमार्फत आइतबार वडा नं. २ अन्तर्गत बेतहनी, नौरीगौढी र बाणी क्षेत्रमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा अभिभावक, युवा तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रम सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको हो।
कार्यक्रममा वैदेशिक रोजगारीमा जानुअघि पूरा गर्नुपर्ने कानुनी प्रक्रिया, श्रम स्वीकृति, रोजगारदातासँगको सम्झौता, बीमा, सीपमूलक तथा अभिमुखीकरण तालिम, वैदेशिक रोजगार बोर्डका सेवा–सुविधा तथा विदेशमा श्रमिकका अधिकार र कर्तव्यबारे जानकारी दिइएको थियो।
डुडुवा गाउँपालिकाकी रोजगार संयोजक अल्का मिश्रले वैदेशिक रोजगारीका क्रममा धेरै नेपाली युवा विभिन्न समस्यामा पर्ने तथा कतिपयले ज्यानसमेत गुमाउने अवस्था रहेकाले सचेतना कार्यक्रम आवश्यक रहेको बताउनुभयो। उहाँले विदेश जानुअघि गन्तव्य मुलुक, कामको प्रकृति, रोजगारदाता कम्पनी र कानुनी प्रक्रियाबारे स्पष्ट जानकारी लिनुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सीप, सही सूचना र कानुनी प्रक्रिया अनिवार्य छन्। विदेश जानुअघि सम्बन्धित देशको अवस्था, संस्कृति र श्रम कानुनबारे जानकारी लिनुपर्छ।”
अभिमुखीकरणका क्रममा सहभागीहरूले वैदेशिक रोजगारसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए भने सहजकर्ताहरूले व्यावहारिक जानकारी दिएका थिए।
डुडुवा गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै वैदेशिक रोजगारीमा जाने युवायुवती तथा तिनका परिवारलाई सचेत, सक्षम र सुरक्षित बनाउने लक्ष्य राखेको जनाएको छ। कार्यक्रमले सुरक्षित वैदेशिक रोजगारको संस्कार विकास गर्न र जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्