तपाईँ सुन्दै हुनुहुन्छः

किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द

सङ्खुवासभा । चीनसँग सीमा जोडिएको सङ्खुवासभाको भोटखोला गाउँपालिका(१ किमाथाङ्कामा शुक्रबारदेखि नेपाल टेलिकमको इन्टरनेट (फोरजी) सेवा अवरुद्ध भएको छ ।

भोटखोला-१ का वडाध्यक्ष नुर्पु च्यावाले किमाथाङ्का क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा अचानक अवरुद्ध भएको जनाउँदै समस्या देखिएलगत्तै सम्बन्धित निकायलाई जानकारी गराइएको बताउनुभयो । सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन पहल भइरहेको उहाँको भनाइ छ ।

इन्टरनेट सेवा अवरुद्ध भएपछि स्थानीयवासी सूचना आदानप्रदान गर्न, आफन्तसँग सम्पर्क गर्न तथा विभिन्न अनलाइन सेवा लिनबाट बञ्चित भएका छन् । ‘इन्टरनेट’मार्फत सञ्चालन हुने सरकारी, वित्तीय तथा अन्य सेवामा यसले असर परेको भन्दै तत्काल नियमित रूपमा सेवा सञ्चालनका लागि सरोकार भएका निकायले तत्परता देखाउनुपर्ने स्थानीयले बताएका छन् ।

नेपाल(चीन सीमा क्षेत्रमा अवस्थित किमाथाङ्का व्यापारिक, रणनीतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र मानिन्छ । सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीयसँगै सीमा क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी तथा सेवाग्राही प्रभावित भएका छन् ।

किमाथाङ्का दुर्गम हिमाली क्षेत्रमा पर्ने भएकाले पनि प्राविधिक समस्या हुँदा समाधान गर्न समय लाग्न सक्ने स्थानीयको भनाइ छ । यसैबीच, उहाँहरूले समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरी शीघ्र सेवा सञ्चालन गर्नुपर्ने माग सम्बन्धित निकायसँग गरेका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button