तपाईँ सुन्दै हुनुहुन्छः

राक्सिराङका २५ सयभन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाक वितरण

मकवानपुर।मकवानपुरको दुर्गम र आर्थिक रूपमा पछाडि परेको राक्सिराङ गाउँपालिकाका २ हजार ५ सयभन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ। जर्मन संस्था लिसा हिमालयन ईभीको आर्थिक सहयोग तथा दिगो विकासका लागि एकता नेपाल को व्यवस्थापनमा सञ्चालित ‘शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जन सहयोग परियोजना’ अन्तर्गत पोशाक वितरण गरिएको हो।

परियोजनाले गाउँपालिकाको वडा नं. ६, ७ र ८ अन्तर्गत रहेका १६ वटा सामुदायिक विद्यालय, विद्यालयमा सञ्चालित १६ वटा प्रारम्भिक बाल विकास केन्द्र (ईसीडी) तथा ६ वटा समुदायमा आधारित ईसीडीमा अध्ययनरत बालबालिकालाई सहयोग उपलब्ध गराएको छ। विद्यार्थीहरूलाई विद्यालय पोशाकसँगै झोला र चप्पलसमेत वितरण गरिएको परियोजना व्यवस्थापक अनिल पौडेलले जानकारी दिनुभयो।

विगत १५ वर्षदेखि यस क्षेत्रमा सक्रिय संस्थाले हाल पाँच वर्षे एकीकृत परियोजना सञ्चालन गरिरहेको छ। पहिलो वर्ष २ हजार ४४८ विद्यार्थीलाई सहयोग गरिएकोमा यस वर्ष सहयोगको दायरा विस्तार गरी २५ सयभन्दा बढी विद्यार्थीलाई समेटिएको छ।

नेपालकै गरिबीको उच्च दर भएका क्षेत्रमध्ये एक मानिने राक्सिराङमा करिब ५२ प्रतिशत चेपाङ समुदायको बसोबास छ भने बाँकी तामाङ र दलित समुदायका परिवारहरू रहेका छन्। यहाँका अधिकांश परिवारले वर्षभर खेतीपाती गर्दा पनि छ महिनाभन्दा बढी खान पुग्ने अवस्था छैन। चरम आर्थिक अभावका कारण विगतमा विद्यालय छाड्ने र बालविवाहका घटना उल्लेख्य थिए। तर, परियोजना सञ्चालनपछि विद्यार्थीको विद्यालय उपस्थितिमा वृद्धि हुनुका साथै बालविवाह न्यूनीकरणमा पनि सकारात्मक प्रभाव परेको परियोजनाले जनाएको छ।

संस्थाले विद्यार्थीहरूको पोषण र स्वास्थ्यलाई प्राथमिकता दिँदै तीनवटै वडाका २२ विद्यालयमा दिवा खाजाको व्यवस्था समेत गरेको छ। खाजाका लागि आवश्यक खाद्य सामग्री तथा खाना पकाउने एलपी ग्यास गाडी पुग्ने स्थानसम्म संस्थाले नै ढुवानी गरेर उपलब्ध गराउँदै आएको छ।

शिक्षाबाट वञ्चित हुन सक्ने विपन्न तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षामा पनि सहयोग प्रदान गरिएको छ। हाल हेटौँडा–१९ बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालय मा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई आवासीय सुविधासहित अध्ययन गराइँदै आएको छ। यस वर्ष कक्षा १२ को परीक्षामा १६ जना विद्यार्थी सहभागी भएका थिए भने थप १६ जना विद्यार्थी हाल छात्रावासमा बसेर अध्ययनरत छन्।

त्यस्तै, स्नातक तह अध्ययन गर्ने ६ जना विद्यार्थीलाई छात्रावासको व्यवस्था गरी हेटौंडा क्याम्पस मा अध्ययन गराइँदै आएको छ। साथै ४ जना विद्यार्थीलाई हेटौँडा–१६ स्थित जनप्रिय माध्यमिक विद्यालय मा आवासीय सुविधासहित कृषि प्राविधिक (जेटीए) तथा विज्ञान विषय अध्ययनको अवसर प्रदान गरिएको छ।

परियोजनाअन्तर्गत स्थानीय कृषकलाई उन्नत जातका मकै, कोदो, धान तथा तरकारीका बीउ वितरण गर्नुका साथै प्राविधिक सहयोग पनि उपलब्ध गराइँदै आएको छ। यसले स्थानीय बासिन्दाको आयआर्जन वृद्धि गर्न सहयोग पुगेको बताइएको छ।

यसबाहेक, संस्थाले तीनवटा वडाका २२ विद्यालयमा मुख स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै वर्षमा दुई पटक ब्रस, मञ्जन र साबुन वितरण गर्ने गरेको छ। गाउँपालिकाका शिक्षकलाई पनि प्रत्येक वर्ष शैक्षिक डायरी र झोला प्रदान गरिँदै आएको परियोजना व्यवस्थापक पौडेलले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button