जनकपुरधाममा धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ : मुख्यमन्त्री यादव
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जनकपुरधामलाई प्रदेशको मात्र होइन देशको प्रमुख धार्मिक गन्तव्य रुपमा विकास गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।

चार तारे होटल पौवा तथा सोही होटेलद्वारा आयोजित बृहत् खाना प्रदर्शनी २०८३ को उद्घाटन गर्दै उहाँले भारतको उत्तर प्रदेशमा रहेको राम जन्मभूमिमा भगवान् श्रीरामको दर्शनका लागि वार्षिक रुपमा आउने ५० करोड पर्यटकमध्ये ५ प्रतिशत पर्यटक जानकी जन्मभूमिमा आए यस क्षेत्रको पर्यटन विकासमा कायापलट हुने बताउनुभयो ।
मुख्यमन्त्री यादवले बुद्ध एअरले चाँडै जनकपुरधाम–अयोध्या, अयोध्या–जनकपुरधाम सिधा हवाई सेवा उडानका विषयमा तयारी गरेको र सेवा शुरु भएपछि जनकपुरधाममा आउने भारतीय पर्यटकको सङ्ख्यामा उल्लेख्य रुपमा वृद्धि हुने बताउनुभयो ।
मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले जनकपुरधाममा शुरु भएको चार तारे होटल पौवाले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्दै होटल पौवाले मिथिला कला, संस्कृति, संस्कार तथा परिकारको प्रवर्द्धनमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
होटल पौवा सञ्चालक समितिका अध्यक्ष दुर्गा भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा होटल पौवाका उपाध्यक्ष ध्रुवराज न्यौपानेले होटल पौवाले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
बृहत् खानाको प्रदर्शनी पर्सिसम्म चल्नेछ ।







प्रतिक्रिया राख्नुहोस्