श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार शर्मा र केन्द्रलाई प्रदान गरिने
झापा । शिक्षा, विज्ञान, अनुसन्धान र कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई प्रदान गरिने प्रतिष्ठित ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञा पुरस्कार’ यस वर्ष प्राडा सुरेशराज शर्मा र राष्ट्रिय आविष्कार केन्द्रलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।
त्यस्तै ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ वरिष्ठ बागवानी विज्ञ चुटराज गुरुङ र एग्रो मनाङ प्रालिलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । झापाको भद्रपुरस्थित रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कारको बारेमा जानकारी गराएको छ । यही जेठ ३० गते काठमाडौँमा आयोजना हुने समारोहमा पुरस्कार तथा सम्मान प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिष्ठानले सामाजिक सेवा, शिक्षा, कृषि, पत्रकारिता, साहित्य तथा बाल विकासका क्षेत्रमा योगदान पुर्याउने व्यक्ति र संस्थालाई सम्मान गर्दै आएको छ । विसं २०६७ सालमा स्थापना भएको प्रतिष्ठानले विभिन्न विधाका राष्ट्रिय पुरस्कारमार्फत समाजमा प्रेरणादायी योगदान पुर्याउने व्यक्तित्वलाई प्रोत्साहन गर्दै आएको छ ।
यस वर्षको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रज्ञा पुरस्कार’को राशि पाँच लाख रुपैयाँ रहेको छ । प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीद्वारा जारी विज्ञप्तिअनुसार उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास, नीति निर्माण तथा शैक्षिक नेतृत्वमा पुर्याएको दीर्घकालीन योगदानको कदरस्वरूप प्राडा सुरेशराज शर्मालाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।
प्राडा शर्मा नेपालमा आधुनिक उच्च शिक्षाको विकासका अग्रणी व्यक्तित्व मानिनुहुन्छ । उहाँ काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति रहनुभएको छ । नेपालमा कम्प्युटर इन्जिनियरिङलगायत विभिन्न प्राविधिक विषयको उच्च शिक्षा विस्तार, प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद् (सीटीइभीटी)को संस्थागत विकास तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा उहाँको भूमिका महत्त्वपूर्ण रहेको प्रतिष्ठानले उल्लेख गरेको छ ।
त्यसैगरी, देशमा नवप्रवर्तन, अनुसन्धान र प्रविधिको विकासमार्फत युवा वैज्ञानिक तथा आविष्कारकलाई प्रोत्साहन पु¥याएको योगदानको मूल्याङ्कन गर्दै राष्ट्रिय आविष्कार केन्द्रलाई पनि संयुक्त रूपमा प्रज्ञा पुरस्कार प्रदान गर्न लागिएको हो । वैज्ञानिक तथा आविष्कारक एवम् प्रतिनिधिसभा सदस्य महावीर पुनको अग्रसरतामा स्थापना भएको केन्द्रले अनुसन्धान, उद्यमशीलता र प्रविधिमैत्री विकासलाई जोड दिँदै आएको छ ।
यता ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’को राशि एक लाख एक हजार १११ रुपैयाँ रहेको छ । नेपालमा उच्च घनत्वयुक्त स्याउ खेती प्रविधिको विस्तार, बागवानी अनुसन्धान तथा कृषक क्षमता विकासमा पुर्याएको योगदानका लागि वरिष्ठ बागवानी विज्ञ चुटराज गुरुङलाई पुरस्कार प्रदान गरिने भएको हो ।
चार दशकभन्दा बढी समय कृषि क्षेत्रमा सक्रिय गुरुङले सरकारी सेवामा रहँदा तथा अवकाशपछि पनि स्याउ खेतीको आधुनिकीकरण, नयाँ प्रविधिको विस्तार र कृषक प्रशिक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ । विशेषगरी हिमाली तथा उच्च पहाडी क्षेत्रमा उच्च उत्पादनशील स्याउ खेती विस्तारमा उहाँको योगदान उल्लेखनीय मानिएको छ ।
त्यस्तै कृषि पुरस्कारतर्फ नै एग्रो मनाङ प्रालिले नेपालमा पहिलो पटक व्यावसायिकस्तरमा उच्च घनत्वयुक्त स्याउ बगैँचा स्थापना गरेर आधुनिक फलफूल खेतीको नमूना प्रस्तुत गरेको प्रतिष्ठानले जनाएको छ । मनाङको दुर्गम क्षेत्रमा स्थापना भएको कम्पनीले स्याउ उत्पादनसँगै प्रशोधन, भण्डारण, बजार व्यवस्थापन र ग्रामीण रोजगारी सिर्जनामा योगदान पुर्याएको उल्लेख छ ।
प्रतिष्ठानका अनुसार एग्रो मनाङको पहलले आधुनिक स्याउ खेती प्रविधि अन्य हिमाली जिल्लामासमेत विस्तार हुन थालेको छ । यसबाट आयात प्रतिस्थापन, स्थानीय उत्पादन प्रवर्द्धन तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा टेवा पुगेको विश्वास गरिएको छ ।
प्रतिष्ठानले विगत वर्षमा पनि कृषि, शिक्षा, पत्रकारिता, साहित्य, मातृत्व तथा बाल विकासका क्षेत्रमा योगदान पुर्याउने दर्जनौँ व्यक्तित्व र संस्थालाई सम्मान गरिसकेको जनाएको छ । यस वर्षका सम्मानित व्यक्तित्व र संस्थाले राष्ट्र निर्माण, ज्ञान–विज्ञानको विकास तथा कृषि आधुनिकीकरणमा पुर्याएको योगदानलाई कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानको भनाइ छ । रासस







प्रतिक्रिया राख्नुहोस्