तपाईँ सुन्दै हुनुहुन्छः

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी मेडिकल कलेज अब्बल सावित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले स्वदेशी मेडिकल कलेजका विद्यार्थीको शैक्षिक गुणस्तर राम्रो देखाएको छ । चिकित्सक ‘लाइसेन्स’ परीक्षाको समग्र उत्तीर्ण प्रतिशत ६६ दशमलव ९५ कायम हुँदा स्वदेशी कलेजबाट उत्पादित विद्यार्थी ७६ दशमलव ७९ प्रतिशत उत्तीर्ण हुन सफल भएका छन् ।  

काउन्सिलले यही जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरेको ६९औँ चिकित्सक लाइसेन्स परीक्षामा सहभागी दुई हजार २६३ परीक्षार्थीमध्ये एक हजार ५१५ विद्यार्थी उत्तीर्ण भएका छन् । स्वदेशका मेडिकल कलेजबाट एमबिबिएसतर्फ सहभागी एक हजार २५४ परीक्षार्थीमध्ये ९६३ जना अर्थात् ७६ दशमलव ७९ प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।

विदेशका मेडिकल कलेजमा अध्ययन गर्ने नेपाली विद्यार्थीको उत्तीर्ण प्रतिशत औसतभन्दा निकै कम देखिएको र इजिप्ट, युक्रेनजस्ता देशमा अध्ययन गरी लाइसेन्स परीक्षामा परीक्षार्थीको नतिजा निराशाजनक रहेको छ ।   

छिमेकी मित्रराष्ट्र भारत र चीनमा अध्ययन गरेका नेपाली विद्यार्थीकोसमेत नतिजा सन्तोषजनक नरहेको तथ्याङ्कले पुष्टि गर्दछ । भारतको मेडिकल कलेजमा अध्ययन गरेका नेपाली विद्यार्थीको उत्तीर्ण प्रतिशत ४२ दशमलव ३१ प्रतिशत र चीनमा अध्ययन गरेकाको १५ दशमलव ०४ प्रतिशत मात्र रहेको छ ।

त्यस्तै, बङ्गलादेशको मेडिकल कलेजमा अध्ययन गरेका नेपाली विद्यार्थीमध्ये ४१ दशमलव १४ प्रतिशत,  फिलिपिन्समा अध्ययन गरेकाको २८ दशमलव ५७ प्रतिशत नेपाली विद्यार्थी उत्तीर्ण भएका छन् भने इजिप्ट, किर्गिस्तान, रुस तथा युक्रेनमा अध्ययन गरेका नेपाली विद्यार्थीको नतिजा निरासाजनक देखिएको काउन्सिलले जनाएको छ ।  

यसैगरी, स्वदेशी मेडिकल कलेजमा बिडिएस अध्ययन गरेका ४०० परीक्षार्थीमध्ये ३४३ जना अर्थात् ८५ दशमलव ७५ प्रतिशत उत्तीर्ण भएका छन् । भारतमा बिडिएस तह अध्ययन गरी फर्केका १७ नेपाली विद्यार्थीमध्ये एक जनामात्र उक्त परीक्षा उत्तीर्ण भएका छन् ।

यसवर्ष एमबिबिएसतर्फको ‘लाइसेन्स’ परीक्षामा ‘चितवन मेडिकल कलेज’ (सिएमसी_  ९३ दशमलव १० प्रतिशत नतिजासहित उत्कृष्ट हुन सफल भएको छ । 

यसैगरी, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ९२ दशमलव २१ प्रतिशत उत्तीर्ण गराई दोस्रो र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले ९१ दशमलव ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर तेस्रो स्थान सुरक्षित गरेको छ । बिडिएसतर्फ गण्डकी मेडिकल कलेजबाट उत्पादित विद्यार्थी सबै उत्तीर्ण भएका छन् ।  

यसै सन्दर्भमा काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डे विदेशबाट अध्ययन गरी आएका परीक्षार्थीको नतिजा कमजोर हुनुको प्रमुख कारण भाषागत समस्या र पाठ्यक्रमको भिन्नता रहेको बताउनुहुन्छ ।

उहाँका अनुसार अब काउन्सिलले सैद्धान्तिक परीक्षासँगै व्यावहारिक परीक्षाको व्यवस्था गर्ने तयारी गरिरहेको छ । एउटै परीक्षाको नतिजाका आधारमा स्वदेशी शिक्षा उत्कृष्ट र विदेशी शिक्षा कमजोर भनेर निष्कर्ष निकाल्न नमिल्ने उहाँको भनाइ छ ।

डा पाण्डेले लाइसेन्स परीक्षाको नतिजाले वास्तविक अवस्था उजागर गरेको बताउँदै विदेशबाट अध्ययन गरेका परीक्षार्थीमा खोट देखाउने र उनीहरूको मनोबल कमजोर बनाउने पक्षमा काउन्सिल नरहेको स्पष्ट गर्नुभयो । 

चिकित्सा क्षेत्रजस्तो संवेदनशील एवं महँगो रुपमा लिइने शैक्षिक कार्यक्रमसँग प्रत्यक्ष रुपमा जोडिएको लाइसेन्स परीक्षाको नतिजाका विषयमा सूक्ष्म रुपमा समीक्षा गरी समस्या समाधान गर्न काउन्सिलले सम्बद्ध सबैसँग अनुरोध गरेको छ ।

काउन्सिलका अनुसार यसपटकको परीक्षा कम्प्युटर प्रविधि (सिबिटी) मार्फत मर्यादित, पारदर्शी र व्यवस्थित ढङ्गले सञ्चालन गरिएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button