तपाईँ सुन्दै हुनुहुन्छः

मिलेनियम ट्रेकमा पर्यटनको अथाह सम्भावना 

काठमाडौँ । तनहुँको दुलेगौंडादेखि स्याङ्जाको रामबाछासम्म फैलिएको मिलेनियम ट्रेक नेपालको पर्यटन प्रवर्द्धनको महत्वपूर्ण आधार बन्न सक्ने सरोकारवालाहरूले बताएका छन्। 

प्राकृतिक सौन्दर्य, जैविक विविधता, ऐतिहासिक सम्पदा र मौलिक संस्कृतिको अद्भुत संगम रहेको यस पदमार्गलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न पूर्वाधार विकास, डिजिटल प्रवर्द्धन र समन्वित प्रयास आवश्यक रहेको उनीहरूको धारणा छ।

शनिबार राजधानीमा मिलेनियम ट्रेक व्यवस्थापन समितिले आयोजना गरेको ‘मिलेनियम ट्रेक प्रवर्द्धन कार्यक्रम–२०८३’ मा सहभागी पर्यटन क्षेत्रका विज्ञ, व्यवसायी तथा जनप्रतिनिधिहरूले मिलेनियम ट्रेकलाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन्। 

कार्यक्रमका प्रमुख अतिथि तथा तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य इञ्जिनियर श्रीराम न्यौपाने ले मिलेनियम ट्रेकलाई नेपालको मात्र नभई विश्व पर्यटन बजारको आकर्षणको केन्द्र बनाउन सकिने बताए। उनले तनहुँको छाब्दीदेखि बन्दीपुर हुँदै देवघाटसम्मको पदमार्गलाई आगामी आर्थिक वर्षको बजेटमार्फत साइकलिङ ट्र्याकका रूपमा विकास गर्ने योजना रहेको जानकारी दिँदै त्यसलाई मिलेनियम ट्रेकसँग समेत जोड्न सकिने उल्लेख गरे। पर्यटन प्रवर्द्धनका लागि डिजिटल साक्षरता र गुणस्तरीय इन्टरनेट पहुँचलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछाने ले गण्डकी प्रदेशका ११ वटै जिल्लाको पर्यटन प्रवर्द्धनका लागि बोर्ड सक्रिय रहेको बताउँदै अन्य ट्रेकिङ गन्तव्यमा जाने पर्यटकलाई मिलेनियम ट्रेकतर्फ आकर्षित गर्न विशेष रणनीति आवश्यक रहेको बताए।

कार्यक्रमअन्तर्गत आयोजित प्यानल छलफलमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे ले पूर्वाधार विकास, डिजिटल प्रचारप्रसार र आन्तरिक पर्यटन विस्तार गर्न सकिए मिलेनियम ट्रेकको भविष्य निकै उज्ज्वल रहेको बताए। पदमार्गका कतिपय क्षेत्रमा पर्याप्त आवास सुविधा नभएको उल्लेख गर्दै आवश्यकताअनुसार टेन्टमार्फत पनि पर्यटकलाई सेवा दिन सकिने उनको भनाइ थियो। पर्यटन व्यवसायी चन्द्र धर्ती र पोखरा बर्ड सोसाइटी का सचिव हेमन्त ढकाल ले पदमार्गमा रहेका चुनौती र सम्भावनाबारे आफ्ना धारणा राखेका थिए। छलफल कार्यक्रमको सहजीकरण वरिष्ठ पत्रकार अनिता बिन्दु ले गरेकी थिइन्। कार्यक्रममा गण्डकी प्रदेश योजना आयोग का उपाध्यक्ष डा. श्रीकान्त खतिवडा ले मिलेनियम ट्रेकको सम्भावना र विकासका आयाम समेटिएको कार्यपत्र प्रस्तुत गर्दै अक्टोबर देखि अप्रिलसम्म यो ट्रेकमा जानु उपयुक्त रहेको बताए । 

तनहुँको दुलेगौंडादेखि स्याङ्जाको रामबाछासम्म जोडिएको मिलेनियम ट्रेक सन् २००० देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। प्रारम्भिक ७२ किलोमिटर दूरी रहेको यो पदमार्गलाई विस्तार गरी ९२ किलोमिटरसम्म पुर्‍याइएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिए। दुलेगौंडाको गाछेपानीस्थित रक गार्डेन, च्यवनधाम, ढोरबाराही मन्दिर, ऐतिहासिक ढोर मूलकोट दरबार, रजस्थल, घरेडी, मिलेनियम गुफा, काल्खु, राइपुर, कोल्मा, भैसेगौडा, चन्द्रकोट, गैरीस्वाँहारा, बानेथोक, भञ्ज्याङ, देउपुजे ढुङ्गा, सिङ्गारकोट, बुढाकोट, राम्चे, गहते मनकामना र सुन्तलाबारी हुँदै रामबाछासम्म पुग्ने यो मार्ग प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण छ।

छ रात सात दिनमा पूरा गर्न सकिने यो पदमार्ग चरा पर्यटनका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। यहाँ करिब ३०० प्रजातिका चराहरू पाइन्छन्। विशेषगरी नेपालमा मात्रै पाइने दुर्लभ काँडे भ्याकुर लगायतका चराहरू पदमार्गका विभिन्न स्थानमा सहजै अवलोकन गर्न सकिने भएकाले पक्षीप्रेमी र अनुसन्धानकर्ताका लागि समेत यो क्षेत्र आकर्षक गन्तव्य बनेको छ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश का प्रमुख वासुदेव पौडेल लाई मिलेनियम ट्रेकको प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। 

मिलेनियम ट्रेक व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष नेत्रप्रसाद गुरुङ सहित पर्यटन क्षेत्रका विज्ञ, व्यवसायी तथा विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले प्रवर्द्धन गरेको थियो भने पदमार्ग क्षेत्रभित्र पर्ने विभिन्न स्थानीय तहहरूले सहयोग गरेका थिए। कार्यक्रममा पदमार्ग क्षेत्रका मौलिक सांस्कृतिक पहिचान झल्काउने घाँटु र कौरा नृत्य समेत प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button