तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा समिति बैठक: विधि विज्ञान प्रयोगशाला विधेयकमा सैद्धान्तिक छलफल 

काठमाडौँ । प्रतिनिधिसभा अन्तरगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक २०८१ माथि सैद्धान्तिक छलफल भएको छ । 

समितिको आज  संघीय संसद् सचिवालयमा बसेको बैठकमा सांसदहरुले अपराध अनुसन्धानलाई  वैज्ञानिक बनाउन र न्यायिक प्रक्रियालाई गुणस्तरीय बनाउन विधि विज्ञान प्रयोगशालालाई आधुनिक प्रविधियुक्त बनाउने गरी विधेयक अघि बढाउनुपर्नेमा जोड दिनुभयो । 

आपराधिक घटनाको निष्पक्ष छानविन गर्न गठन हुने संस्थाको कार्यकारी निर्देशक र सञ्चालक सदस्यहरु विषय विज्ञ हुने गरी योग्यता तोक्नुपर्ने, दक्ष जनशक्तिलाई जिम्मेवारी दिनुपर्ने र विज्ञानका अरू शाखाहरूलाई समेत प्रयोगशालासँग जोड्नुपर्ने भन्दै सांसदहरुले नेपाल प्रहरीले सञ्चालन गर्दै आएको प्रयोगशालासँगको सम्बन्ध पनि विधेयकमा स्पष्ट गरिनुपर्नेमा जोड दिनुभयो । 

त्यसैगरी प्रयोगशालाबाट आएको रिपोर्ट चित्त नबुझे पुन टेस्ट गर्न सकिने व्यवस्था राख्नुपर्ने, नमुना सङ्कलन, भण्डारण र परीक्षणलाई  व्यवस्थित बनाउनुपर्ने र अपराध अनुसन्धान गर्ने संस्थालाई राजनीतिक र प्रशासनिक  नेतृत्वबाट अलग गरिनुपर्ने विचार सांसदहरुले व्यक्त गर्नुभयो  । 

बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाइने गरी सरकार कानून बनाउन लागि परेको बताउनुभयो । 

 समिति सभापति डा ओजस्वी शेरचनले  विषय विज्ञहरुसँग विस्तृत छलफल गरेपछि मात्रै विधेयकमाथि  दफावार छलफल आरम्भ गरिने बैठकलाई जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button